काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तापक्षले संसदीय इतिहासमै अनौठो नजीर स्थापित गरेको बताएकाे छ ।
साेमबार संघीय संसद् भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा.प्रकाश शरण महतले प्रतिपक्षकाे अवराेधबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत लिनु गलत भएकाे बताउनुभयाे ।
सहकारी ठगी काण्सडमा संसदीय छानबिन समिति नबने संसद् चल्न नदिने कुरा कांग्रेसले अगाडि देखि नै सचेत गराउँदा गराउँदै पनि प्रधानमन्त्रीले विश्वासको मत लिएको उहाँले बताउनुभयाे । 'प्रधानमन्त्रीले प्रतिनिधि सभाबाट आजै विश्वासको मत लिनुपर्ने कुनै कारण थिएन, त्यसका बाबजुत उहाँले लिने निणय गर्नुभयाे, विपक्षी दलहरु वेलमा आएको अवस्थामा, संसद्मा आफ्ना कुराहरु राखेर विरोध गरिरहेको अवस्थामा कसैले पनि विश्वासको मत लिएको अवस्था छैन, त्यसकारण संसदीय इतिहासमै अनौठो नजीर उहाँहरुले स्थापित गर्नुभएको छ'- प्रवक्ता महतले भन्नुभयाे ।
कांग्रेसले ठूलाे मूल्य चुकाउनुपर्नेछ भन्ने प्रधानमन्त्री प्रचण्डकाे अभिव्यक्ति आपत्तिजनक रहेकाे भन्दै उहाँले कांग्रेसले नभएर सत्तापक्षले नै मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभयाे । 'मूल्य त उहाँहरुले चुकाउँदै हुनुहुन्छ, त्यसकारण यो शब्द हाम्रो खिलाफ प्रयोग गर्नु दुर्भाग्यपूर्ण छ, यसको घोर विरोध गर्छौं'- प्रवक्ता महतले भन्नुभयाे ।
गठबन्धन दलहरु संविधान र लाेकतान्त्रिक मूल्य र मान्यता कमजाेर बनाउने खेलमा लागेका उहाँले आराेप लाग्नुभयाे । सहकारी ठगी काण्डमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मात्र नभएर सत्तापक्षका अरु पनि संलग्न रहेकाले सरकारले संसदीय छानबिन समिति बनाउन नमानेकाे प्रवक्ता महतले बताउनुभयाे ।
गृहमन्त्री लामिछानेले आइतबार प्रतिनिधि सभामा दिएको अभिव्यक्तिबाट उहाँ सहकारी ठगी प्रकरणमा संलग्न रहेको पुष्टि भएकाे दाबी पनि उहाँले गर्नुभयाे ।
