काठमाडाैं । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली कांग्रेसले संसदीय छानबिन समितिका नाममा सरकार मागेकाे बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्ताैलाले कांग्रेस रवि लामिछानेलाई देखाएर समितिकाे नाममा सरकार मागिरहेकाे बताउनुभयाे ।
उहाँले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकाे नाम देखाएर सरकार ढाल्ने खेलमा कांग्रेस लागेकाे बताउनुभयाे । प्रमुख सचेतक बर्ताैलाले भन्नुभयाे - 'रवि लामिछानेकाे नाम लिने, भाेलिपल्टदेखि सदनमा राजीनामा माग्ने, सरकार ढाल्ने, अस्थिरतातर्फ मुलुकलाई लैजाने त्याे दाउपेच भन्दा कांग्रेसकाे अरु के छ ? कांग्रेसले समिति माग गरेकाे हाेइन, समितिका नामबाट सरकार माग गरेकाे हाे, जुन कुरा असम्भव छ, कांग्रेसकाे माग बदनियत र पूर्वाग्रहपेरित छ भन्ने कुरा उसकाे समग्र चरित्र र व्यवहारबाट उदांगाे भएकाे छ ।'
सरकार संवाद्काे वातावरण बनाएर अघि बढ्न तयार रहेकाे भन्दै उहाँले सहमति भएबमाेजिम अगाडि बढ्न कांग्रेस तयार भएर आउनुपर्ने बताउनुभयाे । सहकारी पीडितलाई न्याय दिन, बचतकर्ताकाे बचत सुनिश्चितता गर्न, सहकारी ठग र बदमासी गर्नेहरुलाई कारबाही गर्न सरकार तयार रहेकाे भन्दै प्रमुख सचेतक बर्ताैलाले याे काम संसदीय छानबिन समितिले गर्न सक्ने बताउनुभयाे । उहाँले प्रश्न गर्नुभयाे - 'तर कांग्रेस तयार छ ? तपाइँहरुलाई चाहिएकाे के छ भने रवि लामिछानेकाे नाम लिने र सरकार ढाल्ने ।'
सरकारमा सहभागी भएकाे कुनै दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक व्यवस्थाअनुसार विश्वासकाे मत लिनुभएकाे उहाँले बताउनुभयाे । प्रमुख सचेतक बर्ताैलाले भन्नुभयाे - 'सरकारले संवैधानिक व्यवस्था बमाेजिम विश्वासकाे मत लिएकाे छ, बहुमत सांसद्ले गरेकाे मतदान स्वीकार्य छैन भने कांग्रेसले लगाएकाे उदण्ड नारा र आराेप स्वीकार्य छ ? संविधान निर्माणमा महान् भूमिका छ भन्ने कांग्रेसले संविधान बमाेजिम प्रधानमन्त्रीले विश्वासकाे मत लिँदा किन विराेध गर्छ ।'
