काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै कांग्रेस सांसद् बद्रीप्रसाद पाण्डेले सहकारी ठगी काण्डकाे अभियाेगमा वाग्मती प्रदेश सभा सदस्यलाई पक्राउ पूर्जी जारी भएकाे भन्दै गृहमन्त्री लामिछानेलाई पनि पक्राउ गर्नुपर्ने बताउनुभयाे । 'यस्तै खालकाे गृहमन्त्रीको जस्तै अभियोग भाेगिरहेका वाग्मती प्रदेश सभा सांसद् गीता बस्नेतमाथि पक्राउ पूर्जी जारी भएकाे हामीले सुनेका छाैं, एउटै अभियाेगमा एक जना पक्राउ पूर्जी जारी भएर फरारकाे सूचीमा हुनुपर्ने याे कस्ताे विणम्बना हाे र याे कस्ताे न्याय हाे ?'- उहाँकाे प्रश्न छ ।
गृहमन्त्रीले दाबी गरेअनुसार भए संसदीय छानबिन समिति बनाएर गृहमन्त्रीमाथि छानबिन गर्न सांसद् पाण्डेले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । 'गृहमन्त्रीकाे दाबी छ म यसमा संलग्न छैन, त्यसाे हाे भने संसदीय छानबिन समिति बनाऔं, उहाँ संलग्न भएकाे हाेइन भने उहाँले उन्मुक्ति पाउनुस् सफाइ पाउनुस्, संलग्न भएकाे हाे भने माननीय गीता बस्नेतलाई जस्तै उहाँलाई पनि पक्राउ पूर्जी जारी हाेस्, हाम्राे आग्रह हाे'- उहाँले भन्नुभयाे ।
स्वर्णलक्ष्मी, सुप्रिम, सहारा र सूर्यदर्शन गरी ४ वटा सहकारीबाट गाेरखा मिडिया नेटवर्कले करिब १ अर्ब ऋण लिएकाे र ऋण लिने बेला त्यसकाे प्रबन्ध निर्देशक रवि लामिछाने रहेकाे सांसद् पाण्डेले बताउनुभयाे । सहकारी कार्यालय, प्रहरीकाे कार्यालय प्रतिवेदन लगायतमा गृहमन्त्रीकाे संलग्नता पुष्टि भएकाे उहाँले बताउनुभयाे ।
राेस्टममा उभिएर गृहमन्त्रीले नबाेलेर बरबराउनुभएकाे आराेप सांसद् पाण्डेले लगाउनुभयाे । उपसभापति र महामन्त्रीमाथि लाञ्छना लगाउनुभएकाे भन्दै उहाँले समिति बनाएर छानबिन गर्न चुनाैती दिनुभयाे ।
बचतकर्ताकाे रकम फिर्ताकाे सुनिश्चितता नभएसम्म आफूहरुकाे आन्दाेलन जारी रहने उहाँले बताउनुभयाे ।
राष्ट्रिय सूचना बेच्ने काे त्यसलाई देखाउन गृहमन्त्रीलाई चुनाैती दिँदै सांसद् पाण्डेले नत्र गलत्याएर संसद्बाट निकाल्ने चेतावनी पनि गृहमन्त्रीलाई दिनुभयाे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ४ पटक विश्वासकाे मत लिनुले सरकारकाे अवस्था प्रमाणित भएकाे सांसद् पाण्डेले बताउनुभयाे ।
