काठमाडाैं । सरकारको आगामी आर्थिक वर्ष २०८१-०८२ काे नीति तथा कार्यक्रम प्रतिनिधि सभामा टेबल भएकाे छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजी र वेल घेराउबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा टेबुल गर्नुभएकाे हाे । संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई जेठ गते राष्ट्रपतिले गर्नुभएको सम्बोधनको प्रति प्रधानमन्त्रीले टेबुल गर्नुभएकाे हाे ।
बैठकले राष्ट्रपति रामचन्द्र पाैडेलाई धन्यवाद दिने प्रस्ताव पनि पारित गरेकाे छ । 'सम्माननीय राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बठैकलाई सम्वत् ०८१ जेठ १ गते मंगलबारका दिन गर्नुभएको सम्बोधनको लागि प्रतिनिधि सभाको यो बैठक सम्माननीय राष्ट्रपति महोदयमा धन्यवाद ज्ञापन गर्दछ'- याे प्रस्ताव निर्णयार्थ पेस गर्दै सभामुख देवराज घिमिरेले सर्वसम्मतिले पारित भएकाे घाेषणा गर्नुभयाे ।
सहकारी ठगी काण्डमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने अडानसहित कांग्रेसले लगातार सदन अवरुद्ध गर्दै आएकाे छ ।
