काठमाडौं । सरकारले राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक प्रतिनिधि सभाबाट फिर्ता लिएको छ ।
मंगलबार उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले सो विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधि सभा समक्ष पेस गर्नुभएको थियो । प्रतिपक्षी दलका सांसदको विरोध र अवरोधका बिच रोष्टममा पुग्नुभएका गृह मन्त्रीले पेस गर्नुभएको प्रस्ताव सभामुखले निर्णयार्थ बैठकमा पेस गर्नुभएको थियो ।
राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक २०८० सभामा निर्णयार्थ पेस गर्दा सत्ता पक्षका सांसदहरूले ध्वनि मतले समर्थन जनाएका थिए । विधेयक फिर्ता लिने प्रस्तावमा कसैको विरोधको सूचना नपरेको उल्लेख गर्दै सभामुखले बहुमतले विधेयक फिर्ता लिन समर्थन गरेको घोषणा गर्नुभएको थियो । विधेयक फिर्ता लिने पक्षमा बहुमत सांसद देखिएको फिर्ता भएको जानकारी सभामुख देवराज घिमिरेले बैठकलाई दिनुभएको थियो ।
