काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सदनबाट गलहत्याउने चेतावनी दिएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै कांग्रेस सांसद् बद्री पाण्डेले कांग्रेसका नेतामाथि लगाएकाे आराेप प्रमाणित गर्न गृहमन्त्रीलाई चुनाैती दिँदै दनबाट गलहत्याउने चेतावनी दिनुभएकाे हाे ।
गृहमन्त्री लामिछानेले राष्ट्रिय सूचना बेच्ने एजेन्ट यही सदनमा रहेको बताउनुभएकाे भन्दै उहाँले त्याे एजेन्टलाई देखाउनु चुनाैती दिनुभयाे । 'राष्ट्रिय सूचना बेच्ने एजेन्ट यही सदनमा छ भन्नुभएकाे छ, गृहमन्त्रीज्यू को हो त्यो एजेन्ट तपाइँ देखाउनुस्, उसलाई यो सदनबाट गलहत्याउन तपाइँको साथमा हामी लाग्नेछौं, होइन तपाइँ निराधारार आरोप लगाउँदै हुनुहुन्छ भने गृहमन्त्रीज्यू तपाइँलाई यो सदनबाट गलहत्याउने कामबाट पनि हामी चुक्ने छैनौं'- सांसद् पाण्डेले भन्नुभयाे ।
गृहमन्त्रीले लगाएकाे आराेप सत्य भएकाे सभामुखकाे रुलिङ चाहिने नत्र रेकर्डबाट हटाउनुपर्ने पनि उहाँले बताउनुभयाे ।
गृहमन्त्री लामिछानेले आफ्नो पार्टीका उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापामाथि गम्भीर लाञ्छना लगाएको भन्दै कांग्रेस सहमहामन्त्री समेत रहनुभएका सांसद् पाण्डेले नामै किटेर छानबिन समिति बनाउन सरकारलाई चुनौती दिनुभयाे । 'हाम्रो पार्टीका उपसभापति र महामन्त्रीमाथि जसरी उहाँले लाञ्छना लगाउनुभएको छ, म सरकार र गृहमन्त्रीलाई चुनौती दिन चाहन्छु, के कस्तो खालको टीओआर बनाउनुपर्ने हो बनाउनुस्, हाम्राे उपसभापति र महामन्त्रीको नामै किटेर टीओआरमा लेख्नुपर्ने हो कि व्यक्तिको लेख्नु पर्ने हो कि कांग्रेसको लेख्नु पर्ने हो, लेख्नुस्, छानबिनको समय पनि तोक्नुस्, उपसभापति र महामन्त्री मात्र हाेइन कांग्रेसका अरु दाेषी हुनुभयाे भने कारबाही गर्नुस्'- उहाँले भन्नुभयाे ।
