काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राउ पूर्जी जारी गरिएकाेमा आपत्ति जनाएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै कांग्रेस सहमहामन्त्री तथा कांग्रेस सांसद् बद्री पाण्डेले आग्रह पूर्वाग्रह राखेर कसैमाथि कारबाही भए कांग्रेसलाई सह्य नहुने बताउनुभयाे । 'कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ पूर्जी जारी भएकाे मैले सुनेकाे छु, कानुनी कारबाहीकाे दायरामा हरेक नागरिकलाई ल्याउनुपर्छ, तर आग्रह पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयाे भने नेपाली कांग्रेसले राणालाई सहेन, राजालाई सहेन, कसैलाई पनि सहँदैन'- उहाँले भन्नुभयाे ।
सिरोहियाविरुद्ध पक्राउ पूर्जी जारी भएसँगै कांग्रेसका सांसद् रामहरी खतिवडा, राजेन्द्र बजगाईं, रामनाथ अधिकारी, रामकृष्ण यादव, नागिना यादव लगायत नेताहरू थापाथलीस्थित कान्तिपुरकाे कार्यालय पुगेका थिए ।
धनुषा जिल्ला अदालतले सिरोहियाविरुद्ध आज पक्राउ पूर्जी जारी गरेको थियाे ।
