काठमाडाैं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे सत्तापक्षकाे इसारामा चलेकाे आराेप लगाएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकपछि संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सांसद् प्रदीप पाैडेलले सभामुख घिमिरे सत्तापक्षकाे इसारामा चलेकाे आराेप लगाउनुभयाे ।
आजकाे प्रतिनिधि सभा बैठकमा प्रतिपक्षका सांसद्हरुले बाेल्नका लागि समय माग्दा समय नदिएर सभामुखले गलत गर्नुभएकाे उहाँले आराेप लगाउनुभयाे ।
संसद् प्रतिपक्षको हुन्छ भन्ने संसदीय मान्यताकै उल्लंघन गरिएको भन्दै सांसद् पाैडेलले सत्ताको इशारामा संसद् एकलौटी ढंगले चलाउन खोजिएको आराेप लगाउनुभयाे । 'प्रतिपक्षले बाेल्न पाउनुपर्याे भन्दा सभामुखज्यूले बाेल्न दिनुभएन, संसद् प्रतिपक्षकाे हुन्छ भन्ने आम संसदीय मान्यतालाई आज नेपालकाे संसद्ले उल्लंघन गरेकाे छ, सभामुखज्यूले प्रतिपक्षलाघ बाेल्नबाट राेक्नुभएकाे छ, यसअघि कम्तिमा सभा सुरु हुनुअघि प्रतिपक्षकाे कुनै सांसद्ले बाेल्न पाएकाे स्थिति थियाे, आज त्याे पनि बन्द गरिएकाे छ, यसबाट संसद् एकलाैटी ढंगले चलाउने, जबरजस्त गर्ने, सभामुख सम्पूर्ण रुपले सत्ताकाे इशारामा चल्ने स्थिति बनेकाे छ'- उहाँले भन्नुभयाे ।
संसद्बाट हल निकाल्नुकाे सट्टा सरकारले नै संसद्लाई बन्दी बनाएकाे आराेप लगाउँदै सांसद् पाैडेलले सभामुखकाे आजकाे भूमिकाबाट त्याे प्रष्ट भएकाे बताउनुभयाे ।
