काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सहकारी ठगी काण्डमा छानबिन समिति बनाउन सरकारसँग माग गरेकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे सुरुमै बाेल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले सहकारी ठगी काण्डमा छानबिन समिति आवश्यक रहेकाे बताउनुभयाे ।
गृहमन्त्रीले ३ महिनाअघि प्रतिपक्षमा बस्दा सरकारलाई गरेकाे प्रश्नकाे उहाँले स्मरण गराउनुभयाे । 'जजसकाे नाम आएकाे छ छानबिन गराैं, गृहमन्त्रीले मुटु दह्राे छ भन्नुभएकाे थियाे, प्रधानमन्त्रीले मुटु दह्राे छ भन्नुभएकाे थियाे, हरेककाे नाम आएकाे छ काे मानिससँग किन डराएकाे ? साेधपुछ गर्न पनि गृहमन्त्री र प्रधानमन्त्री ? ३ महिनाअघि गृहमन्त्रीले यहीँ बसेर भन्नुभएकाे कुरा हाे याे, खुट्टा कमाउनुहुँदैन उहाँहरुकाे नाम ठाउँठाउँमा आएकाे छ छानबिन किन नगर्ने भन्नुभएकाे थियाे' - शाहीले भन्नुभयाे ।
सहकारी पीडितले खाइनखाइ रकम जम्मा गरेकाे रकम अपचलनबारे छानबिन हुनैपर्ने उहाँले बताउनुभयाे । 'सहकारी पीडितहरुको सडकमा बास भएको छ, मकै पोलेको, सागको मुठा बेचेको पैसा हो, कुनै अर्बपति खर्बपतिको हैन, नेपाली जनतालाई मार्न पाउने अधिकार कसैलाई छैन, गृहमन्त्रीज्यूकाे शब्दाबली फिर्ता पठाउँदै भन्छु मुटु छ कि छैन ? डराएकाे हाे ? खुट्टा कमाएकाे हाे ? त्यसैले छानबिन समिति आवश्यक छ'- शाहीले भन्नुभयाे ।
दुईवटा कानुन छ कि एउटा भन्ने प्रश्न गर्दै उहाँले सहकारीकाे उस्तै विषयमा राप्रपाका प्रदेश सांसद् गीता बस्नेतलाई पक्राउ पूर्जी जारी भएकाे तर गृहमन्त्री लामिछाने पदमा बस्ने छानबिन पनि गर्न नहुने चर्चा भएकाे बताउनुभयाे । बस्नेत र लामिछानेसहित यस्ता प्रवृत्तिमा संलग्न सबै प्रधानमन्त्री हुन कि अरु सबैदाई कारबाही हुनैपर्ने र कानुन सबैका लागि बराबर हुनुपर्ने शाहीले बताउनुभयाे ।
पुराना दलले काम गरेनन् भनेर आफूहरुलाई नयाँ दल भनेर जनताले भाेट दिएका भन्दै उहाँले नयाँ शक्तिले पनि नाक देखाउन लाजकाे अवस्था भएकाे बताउनुभयाे । 'गृहमन्त्रीज्यू छानबिन समिति बनाउन दिनुस्, खुला गरिदिनुस्, दाेषी भए कारबाही हाेला निर्दाेष भए फेरि याे संसद्मा गृहमन्त्रीकाे रुपमा आउनुहाेला, छानबिन समिति बनाउँदैमा दाेषी र निर्दाेष भन्ने हुँदैन, हामी नयाँ शक्तिले पनि नाक देखाउन लाज भयाे, छानबिन समिति बनाउनुपर्याे गृहमन्त्रीले, यसकाे नेतृत्व गर्नुपर्याे, अगाडि बढाउन पर्याे, छानबिन समिति आवश्यक छ, जनतालाई न्याय दिनुपर्छ'- शाहीले भन्नुभयाे ।
