काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाे अवराेधबीच प्रतिनिधि सभामा चालु आर्थिक वर्ष २०८०-८१ को आर्थिक सर्वेक्षण पेस भएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०-८१ को आर्थिक सर्वेक्षण पेस गर्नुभएकाे हाे ।
कृषि र सेवा क्षेत्रमा भएकाे विस्तारका कारण चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशतले विस्तार हुने अर्थमन्त्री पुनले बताउनुभयाे ।
चालु आर्थिक वर्षमा कुल लगानी २ दशमलव ८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब पुग्ने अनुमान रहेको उहाँले बताउनुभयाे । राजश्व परिचालनमा क्रमश सुधार हुँदै गएकाे अर्थमन्त्री पुनले बताउनुभयाे ।
चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आम्दानी बढेर १ हजार ४५६ अमेरिकी डलर पुग्ने अनुमान रहेको उहाँले बताउनुभयाे । अर्थमन्त्री पुनले प्रदेशगत रुपमा गण्डकी, वाग्मती, लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औषत भन्दा माथि रहने अनुमान रहेको बताउनुभयाे ।
चालु आर्थिक वर्षको फागुनसम्म औषत उपभोक्ता मूल्यवृद्धि ६ दशमलव ८० प्रतिशत रहने उहाँले बताउनुभयाे ।
