काठमाडौं । आगामी आर्थिक वर्ष २०८१-०८२ काे सरकारकाे नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित भएकाे छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीबीच आइतबार बसेकाे प्रतिनिधि सभा बैठकबाट नीति कार्यक्रम बहुमतले पारित भएकाे हाे ।
त्यसअघि नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभा बैठकमा १ घण्टा छलफल भएको थियो । यही जेठ १ गते राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेर नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे थियाे ।
नीति तथा कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाकाअध्यक्ष एवं सांसद् चित्रबहादुर केसीले संशोधन राख्नुभएकाे थियाे ।
नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुभएकाे थियाे । सुवाल र केसीको संशोधन बैठकले बहुमतले अस्वीकृत गरेकाे थियाे ।
त्यसपछि सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दै बहुमतले पारित भएकाे घाेषणा गर्नुभयाे ।
सभामुख घिमिरेले दुवै सदनको संयुक्त बैठक यही जेठ १५ गते दिउँसो १ बजेका लागि आह्वान गरिएकाे भन्दै सांसद्हरुलाई उपस्थित हुनका लागि आग्रह गर्नुभयाे ।
