काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनकाे गतिराेध अन्त्य गर्ने प्रयास भइरहेकाे बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नकाे जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सदनकाे गतिरोधको अन्त्यका लागि आफूले सत्ता र प्रतिपक्ष दलका नेतासँग निरन्तर छलफल गरिरहेकाे बताउनुभयाे ।
सदनमा अवराेधकाे स्थितिमा नीति तथा कार्यक्रमाथि जवाफ दिनुपर्दा दु:ख लागेकाे उहाँले बताउनुभयाे । प्रधामन्त्री प्रचण्डले भन्नुभयाे - 'सदन अवरोधको जाे स्थितिको बीचमा सदनमा उठेका प्रश्नको जवाफ दिनुपरेको छ, मलाई नमिठो पनि लागेको छ, बडाे दु:खकाे पनि महशुस भएकाे छ, हामीले यो स्थितिको अन्त्य गर्नै पर्दछ, केही दिनदेखि राजनीतिक दलहरु र प्रतिपक्ष दलका नेतासँग छलफल गरिराखेकाे छु र यो गतिरोधको अन्त्य गर्न प्रयास भइरहेको छ, हामी सहमति र समझदारीकाे धेरै नजिक पुगेको पनि हामीले बेलाबेलाम महशुस गरेका छाैं. यहाँहरुलाई थाहै छ मैले आज बिहान पनि नेपाली कांग्रेसका सभापतिकाे घर बुढानिलकण्ठ पुगेर सहमतिका लागि प्रयास गरेको छु ।'
संसदीय समितिकाे टीओआरबारे करिब सहमतिमा पुगिसकिएकाे उहाँले बताउनुभयाे । आज साँझ वा भाेलि बिहानसम्म समझदारीमा पुगेर सहज रुपमा नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्ने वातावरण बन्ने विश्वास प्रधानमन्त्री प्रचण्डले व्यक्त गर्नुभयाे ।
उहाँले सदनलाई राष्ट्रिय मुद्दामा छलफल र बहस गर्ने, लाेकतान्त्रिक विधि पद्धतिलाई सुदृढ गर्ने, लाेकतान्त्रिक मान्यतालाई अवलम्ब गर्ने थलाेका रुपमा विकास गर्न र गतिराेधलाई छिटाे भन्दा छिटाे अन्त्य गर्न सबैमा अपिल गर्नुभयाे ।
