काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद् विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको नीति तथा कार्यक्रमले नागरिकमा आशा जगाउने बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा सरकारकाे नीति तथा कार्यक्रमाथिकाे छलफलमा भाग लिँदै सांसद् पाैडेलले नागरिककाे निराशालाई चिर्दै आशा जगाउने किसिमले नीति तथा कार्यक्रम आएकाे बताउनुभयाे ।
नीति तथा कार्यक्रमले अल्मलिएकाे विकासलाई ट्रयाकमा ल्याउने, विकास प्रयासलाई अगाडि बढाउने संकल्प गरेकाे र राेकिएकाे विकासलाई अगाडि बढाउने दृष्टिकाेण अबलम्बन गरेकाे उहाँले बताउनुभयाे ।
नीति तथा कार्यक्रमले मुलुकका आर्थिक सामाजिक क्षेत्रका समग्र समस्यालाई चिनेकाे र समाधानका लागि सही र समयाेचित दृष्टिकाेण अघि सारेकाे उपाध्यक्ष पाैडेलले बताउनुभयाे ।
पूर्व अर्थमन्त्री समेत रहनुभएका उपाध्यक्ष पाैडेलले नीति तथा कार्यक्रमले १६औं याेजनालाई अनुशरण र दीगाे विकासकाे लक्ष्यलाई पछ्याउने काेशिस गरेकाे बताउनुभयाे । नीति तथा कार्यक्रमले सरकारकाे नीतिगत प्राथमिकता र साझा संकल्पलाई अनुशरण गरेर प्रतिबिम्बित गरेकाे उहाँले बताउनुभयाे ।
देशकाे अर्थतन्त्र यतिबेला मुर्छित, शिथिल र घर्सिएकाे अवस्थामा रहेकाे भन्दै उपाध्यक्ष पाैडेलले नीति तथा कार्यक्रमले मुर्छित, शिथिल र घर्सिएकाे अर्थतन्त्रलाई चलायमान बनाउने बताउनुभयाे । उहाँले समग्र आर्थिक सामाजिक समस्यालाई समाधान गर्ने दृष्टिकाेण राखेकाले नीति तथा कार्यक्रम समर्थन याेग्य रहेकाे बताउनुभयाे ।
भाैतिक र मानवीय विकास, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेकाे, नेपाली समाजकाे समाजवाद समृद्ध नेपाल सुखी नेपालीकाे राष्ट्रिय आकांक्षालाई केन्द्रभागमा राखेकाे उपाध्यक्ष पाैडेलले बताउनुभयाे ।
सरकारकाे नीति तथा कार्यक्रम निर्वाध रुपमा अगाडि बढ्नुपर्छ भनेर छलफलमा भाग लिएकाे भन्दै उहाँले राष्ट्रिय जनमाेर्चाका सांसद् चित्रबहादुर केसी र नेमकिपाका सांसद् प्रेस सुवाललाई धन्यवाद दिनुभयाे । उपाध्यक्ष पाैडेलले भन्नुभयाे - 'संसद् जुन प्रकारकाे गतिराेध पैदा गर्ने काेशिस भएकाे छ त्यसप्रति असमति जनाउँदै छलफलमा सहभागी भएर संशाेधन प्रस्ताव पेस गरेर नीति तथा कार्यक्रममाथिकाे छलफल निर्वाध अगाडि बढ्नुपर्छ भनेर याेगदान गर्ने माननीय चित्रबहादुर केसी र माननीय प्रेस सुवालप्रति धन्यवाद व्यक्त गर्न चाहान्छु ।'
सरकारको नीति तथा कार्यक्रम राम्रो र महत्त्वपूर्ण रहेकाे भन्दै वेल घेर्ने भन्दा छलफलमा सहभागी हुन प्रमुख प्रतिपक्षी कांग्रेसलाई उहाँले आग्रह गर्नुभयाे । उपाध्यक्ष पाैडेलले भन्नुभयाे - 'सरकारको नीति तथा कार्यक्रम यति राम्रो र यति महत्त्वपूर्ण छ, प्रतिपक्षका रहेका माननीय सदस्यले वेल घेरेर नारा लगाउनु भन्दा छलफलमा सहभगी भएर ताली बजाएर समर्थन गर्नुपर्ने प्रकृतिको छ ।'
