काठमाडाैं । सरकारले सहकारी ठगी काण्डमा छानबिनका लागि संसदीय छानबिन विशेष समिति गठन गरेकाे छ ।
मंगलबार साँझ बसेकाे प्रतिनिधि सभाकाे बैठकमा सभामुख देवराज घिमिरेले सहकारी संस्था बचत रकम दुरुपयाेग सम्बन्धमा संसदीय छानबिन विशेष समिति घाेषणा गर्नुभएकाे हाे ।
उहाँले घाेषणा गर्नुभएकाे सूर्य थापाकाे संयाेजकत्वमा गठित समितिमा ईश्वरीदेवी न्याैपाने, ध्रुवबहादुर पाण्डे, बद्री प्रसाद पाण्डे, लेखनाथ दाहाल, शिशिर खनाल र सरिता भुसाल सदस्य हुनुहुन्छ ।
समितिलाई ४ वटा कार्यक्षेत्र ताेकिएकाे छ । सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने काम समितिले गर्नेछ ।
समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढंगले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिस गर्ने काम समितिले गर्नेछ ।
नेपाल सरकार सहकारी विभाग र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिकीकरण गरेका अनुसूची-१ मा उल्लेख भएका संस्थाहरू लगायतका सहकारी संस्थामा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीमा आबद्ध बचतकर्ताको बचत सुरक्षा र फिर्ता को प्रक्रिया कहाँ पुगेको छ सो को अध्ययन विश्लेषण गरी अविलम्ब बचत फिर्ताको उपायसहितको सुझाव दिने काम पनि समितिले गर्ने छ ।
४. सहकारी संस्था सदस्य (शेयर धनी) एवं बचतकर्ताबाट सहकारी संस्थामा जम्मा गरिएको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन गरी हानी नोक्सानी पुऱ्याएको भनी ससंय संसद् र सार्वजनिक रूपमा प्रश्न उठेका, विभिन्न तह र निकायमा उजुरी परेका अनुसूची २ मा उल्लेखित लगायतका सहकारी संस्थाहरूबाट गोरखा मिडिया नेटवर्क प्रालि लगायत अन्य कम्पनी वा संस्थाहरूमा प्रवाह भएको रकमको स्थिति, सो रकम गैर कानुनी रूपमा प्रवाह भए-नभएको, र त्यस्तो गैर कानुनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरूको बारेमा अध्ययन छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरूलाई कानुन बमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने काम पनि समितिले गर्नेछ ।
समितिलाई अध्ययन, छानबिन र दाेषीलाई कारबाहीकाे सिफारिस गरी प्रतिवेदन बुझाउन ३ महिनाकाे समय दिइएकाे सभामुख घिमिरेले बताउनुभयाे । समितिले आवश्यक परे विज्ञहरुकाे सहयाेग पनि लिन सक्ने सभामुख घिमिरेले बताउनुभयाे ।
