काठमाडाैं । प्रतिनिधि सभाले संघीय निजामती सेवा विधेयक, २०८० र विद्युतीय व्यापार विधेयक, २०८० दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकले निजामती सेवा विधेयक र विद्युतीय व्यापार विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयाेस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेकाे हाे ।
बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जाेशीले संघीय निजामती सेवा विधेयक, २०८० र दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयाेस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे ।
उद्याेग वाणिज्य तथा आपूर्तिमन्त्री दामाेदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएकाे विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयाेस् भनी प्रस्ताव पेस गर्नुभएकाे थियाे ।
दुवै प्रस्तावलाई निर्णयार्थ पेस गर्दै सभामुख देवराज घिमिरेले सर्वसम्मतिले स्वीकृत भएकाे घाेषणा गर्नुभयाे ।
