काठमाडाैं । सरकारले खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड बजेट विनियाेजन गरेकाे छ ।
मंगलबार संघीय संसद्काे दुवै सदनकाे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८१-०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड बजेट विनियाेजन गरिएकाे बताउनुभयाे । याे कुल बजेटकाे १ दशमलव ४३ प्रतिशत हाे ।
बजेटमा एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिइएकाे उहाँले बताउनुभयाे । मेलम्ची खानेपानी आयाेजनाका लागि ५० कराेड रुपैयाँ बजेट विनियाेजन गरिएकाे अर्थमन्त्री पुनले बताउनुभयाे ।
आगामी आर्थिक वर्ष खानेपानी सुविधा विस्तारबाट थप ४ लाख ४५ हजार जनसंख्या लाभान्वित हुने उहाँले बताउनुभयाे । ३७ करोड लिटर फोहोर पानी प्रशोधन क्षमताको धोबिघाट प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने भन्दै अर्थमन्त्री पुनले धोबिघाट, बालकुमारी र सल्लाघारीमा फोहोर पानी प्रशोधन केन्द्रको निर्माण कार्य थालिने बताउनुभयाे ।
उहाँले भक्तपुरकाे महादेव खाेला तथा गुल्मीकाे कंकेदेउरालीमा जलाशययुक्त खानेपानी आयाेजनाकाे निर्माण कार्य अघि बढाइने बताउनुभयाे ।
