काठमाडौं । प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले मुलुकलाई हुकुमी शासनमा चलाउन नमिल्ने बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै खतिवडाले गृह मन्त्री रवि लामिछानेले मूलकलाई हुकुमी शासनमा चलाउन खोजेको आरो लगाउनुभयो । ‘मुलुक हुकुमी शासनमा चल्ने होइन’, उहाँले भन्नुभयो ।
गृह मन्त्रीले महिला ट्राफिक प्रहरीलाई महिनावारी भएको समयमा चार दिन ड्युटी गर्नु नपर्ने, सो समयमा मापसे कारबाहीमा परेकाले ड्युटी गर्ने भनि हुकुमी शासन शैलीमा हुकुम जारी गरेको उहाँले बताउनुभयो । कानुन बनाएर शासन सञ्चालन गर्नुपर्नेमा गृह मन्त्रीले हुकुमी शासन गर्न खोजेको भन्दै उहाँले आलोचना गर्नुभयो । ‘कानुन अनुसार चल्नु पर्छ, कुनै पनि कार्य गर्दा कानुन बनाएर चल्नु पर्छ’, उहाँले भन्नुभयो ।
खतिवडाले मापसे गरेकालाई सडकमा ल्याएर उभ्याउने अधिकार गृह मन्त्रीलाई कुन कानुनले दियो ? भन्दै उहाँले प्रश्न गर्नुभयो । मापसे गरेकालाई सडकमा ल्याएर उभ्याउँदा कस्तो सन्देश जान्छ ? भन्दै उहाँले अर्को प्रश्न गर्नुभयो ।
युट्युब र टेलिभिजनमा बोले जस्तो गरी सरकार नचल्ने खतिवडाले बताउनुभयो । उहाँले गृहमन्त्रीले जारी गरेको यो हुकुम तत्काल खारेज गर्न खतिवडाले माग गर्नुभयो ।
