काठमाडौं । प्रतिनिधि सभा सदस्य दामोदर पौडेल वैरागीले प्रतिनिधि सभाको गरिमा सभाका सबै सदस्यले कायम गर्नुपर्ने बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै पौडेलले संसदमा सांसदहरूले गरेका अभिव्यक्ति र व्यवहारले सभामुखको मात्र नभई संसद्को गरिमामा नै आँच आउने बताउनुभयो । ‘सभामुखले दिएको समयलाई दयाको, भिकको समयमा चाहिँदैन भने सभामुख प्रति अपशब्द बोलेको पनि हामीले सुनियो’, पौडेलले भन्नुभयो ।
सत्ता साझेदार दलको मुख्य नेता माथि नै आक्रमण गर्न आए जसरी आएर अपशब्द प्रयोग गर्ने काम समेत प्रतिनिधि सभामा भएको उहाँले बताउनुभयो । यसले संसद्को गरिमा बढायो वा घटायो भन्ने विषय सबैले सोच्नु पर्ने उहाँको धारणा छ ।
संसद् अवरुद्ध हुँदा धेरै जनताका विषय उठाउन नपाएको उहाँले बताउनुभयो । आउने आर्थिक वर्षको लागि सरकारले अघि सारेका नीति, कार्यक्रम माथि समेत सांसदहरूले बोल्ने मौका नपाएको उहाँले सुनाउनुभयो । सरकारको नीति तथा कार्यक्रम माथि नै छलफल गर्न नपाउँदा सांसदहरूको अधिकार कुण्ठित भएको पौडेलले बताउनुभयो ।
एउटा मान्छेको नाममा अल्झिएर संसद्ले धेरै समय खेर फालेको उहाँले बनाउनुभयो । संसदमा उठाउनु पर्ने धेरै सामाजिक विषय एउटा व्यक्तिको नाम राख्ने कि नराख्ने भन्ने सानो विषयले अलमलिएको उहाँको भनाइ छ ।
