काठमाडाैं । नेपाली कांग्रेसका सांसद् ऐन बहादुर शाहीले मुगुकाे उच्च पाटनमा यार्सागुम्बा टिप्न पुगेका नागरिककाे ज्यान गएकाे र बिरामी परेकाे विषयमा सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् शाहीले मुगुकाे उच्च पाटनमा यार्सा संकलन गर्न पुगेका ४ जनाकाे ज्यान गएकाे र लेक लागेर सयाैं युवा बिरामी परेका बताउनुभयाे ।
यार्सा संकलकहरु रहेकाे ठाउँमा तत्काल आवश्यक औषधिसहित चिकित्सकाे टाेली पठाउन र उनीहरुकाे ज्यानकाे सुरक्षा गर्न सरकारसँग उहाँले आग्रह गर्नुभयाे । 'मुगुकाे उच्च पाटनमा यार्सागुम्बा टिप्न गएका सयाैं युवा लेक लागेर बिरामी भएका छन्, हिजाे मात्रै मनबहादुर बुढा, राजबहादुर साउद, साेभानबहादुर बुढा र देवराज बुढाको मृत्यु भएकाे छ, मृत्यु भएकाहरुकाे पीडा एकातिर छ, बिरामी भएकाहरुकाे ज्यान पनि जाेखिममा छ, त्यसकारण सरकारले आवश्यक औषधि र चिकित्सकाे टाेली पठाएर तत्कालै बिरामीहरुकाे ज्यानकाे सुरक्षा गर्नका लागि अनुराेध गर्छु'- सांसद् शाहीले भन्नुभयाे ।
मुगुकै डाेल्फु गाउँमा युवाहरु यार्सा टिप्न गएकाे र बुढाबुढी मात्रै भएकाे माैका पारेर लुटेराहरुले सुन चाँदी लगायत सामान लुटेकाे भन्दै उहाँले ती लुटेराहरुलाई कारबाही गर्न माग गर्नुभयाे ।
