काठमाडौं । प्रतिनिधि सभा सदस्य मनिष झाले देश अहिले राम्रो अवस्थामा नरहेको बताउनुभयो ।
आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै झाले देशको राजनीति, अर्थतन्त्र, संसदीय व्यवस्था र अवस्था, व्युरोक्रेसी, निजी क्षेत्र सबैको कन्फिडेन्सलाई हेर्ने हो भने कतै पनि राम्रो नभएको बताउनुभयो । ‘देश अहिले राम्रो अवस्थामा छैन’, झाले भन्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी राजनीतिमा आएको २३ महिना, संसदमा आएको १७ महिना र सरकारमा आएको दुई पटक गरेर १ सय २२ दिन भएको बताउँदै झाले अहिले सबै कुरा रास्वपाले गर्दा नै बिग्रिएको भन्ने खालको भाष्य खडा गर्न खोजिएको बताउनुभयो । ‘हामीले हामीहरू भन्दा लगभग २६ हजार ९ सय ३४ दिन जेठो पार्टीलाई तिमीहरूले नै सबै चिज बिगार्यौ र हामी सपार्न आएको भन्ने पनि क्रेडिट लिन आएका होइनौँ, उहाँहरूले राजनीतिमा केही राम्रो गरिदिनु भएको छ, गरिदिनु भएको थियो, उहाँहरूले सङ्घर्ष गरिदिनुभयो, उहाँहरूले परिवर्तनको प्रयासहरू गरिदिनुभयो, त्यसकै बापत आज हामी यो सदनमा छौँ’, उहाँले भन्नुभयो ।
झाले कोर्स परिवर्तनसँगै पाठ्यक्रम पनि परिवर्तन गर्नुपर्ने बताउनुभयो । देशमा राजनीतिक व्यवस्था परिवर्तनसँगै जुन हिसाबले अवस्था परिवर्तन हुनु पर्ने त्यस हिसाबले हुन नसकेको उहाँको धारणा छ ।
आफूहरू केही विकल्प नभएर राजनीतिमा नआएको उहाँले बताउनुभयो । आफूहरू जेल यति वर्ष बस्यौँ वा बागबजारमा यति पटक टायर बालेर राजनीतिमा आयौँ भन्ने हिसाबले राजनीतिमा नआएको उहाँले दाबी गर्नुभयो ।
संसद् अवरुद्ध हुँदा विभिन्न विषयमा उठान पाइएन भनि चिन्ता गर्ने सांसदको संसद् खुल्ला रहेको बेला त्यो चिन्ता कहाँ गयो ? भन्दै उहाँले प्रश्न गर्नुभयो । आफूहरू संसदीय समिति बनाउनु हुन्न भन्ने पक्षमा नरहेको बताउँदै कुनै व्यक्तिलाई किटान गरेर समिति बनाउनु हुँदैन भन्ने पक्षमा मात्र रहेको उहाँले सुनाउनुभयो ।
सहकारीको छानबिन गर्ने समिति मात्र होइन बाँसबारी छाला जुत्ता, टिकापुरको जग्गा, स्काउटको जग्गा लगायतका विषयको पनि छानबिन समिति बनाउनु पर्ने उहाँले माग गर्नुभयो ।
