काठमाडौं । प्रतिनिधि सभा सदस्य माधव सापकोटाले जलवायु परिवर्तनले पारेको प्रभावका मुद्दा नेपालको प्रमुख मुद्दा बन्नु पर्ने बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले नेपाल वातावरण परिवर्तनको उच्च जोखिममा रहेको बताउनुभयो । आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा सरकारले जलवायु परिवर्तनको विषयलाई प्राथमिकताका साथ उठाएको भन्दै उहाँले धन्यवाद दिनुभयो । ‘यो विषयले यहाँ पनि प्राथमिकता पाओस्, हामी गम्भीरतापूर्वक बहस गरौँ’, उहाँले भन्नुभयो ।
सरकारको बजेट वक्तव्यमा यस विषयमा धेरै कुरा सम्बोधन गर्ने प्रयास गरिएको सापकोटाले बताउनुभयो । बजेट तथा कार्यक्रममा ‘हिमाल जोगाऔँ, मानवता बचाऔँ’ भन्ने नारा सहितको बजेट सरकारले ल्याएको भन्दै उहाँले धन्यवाद दिनुभयो ।
सरकारकै आयोजनामा चन्द्रागिरिमा अन्तर्राष्ट्रिय डायलगको आयोजना गरिएको उल्लेख गर्दै सापकोटाले सरकारकै तर्फबाट यो काम हुनु खुसीको विषय भएको बताउनुभयो । त्यसले विश्वभर नै सकारात्मक सन्देश दिएको उहाँको धारणा छ ।
उहाँले यसले पार्ने प्रभाका विषयमा समयमा नै सोचिएन भने ठुलो विपत्ति सहनु पर्ने बताउनुभयो । ‘यसको असर, प्रभाव र न्यूनीकरणको विषयमा सोचिएन भने गम्भीर क्षति बेहोर्नुपर्ने हुनसक्छ’, सापकोटाले भन्नुभयो ।
