काठमाडौं । प्रतिनिधि सभा सदस्य अमृतादेवी अग्रहरीले नेपाली कांग्रेसले विचार नगरी प्रतिनिधि सभा बैठक अवरुद्ध गरेर संसार हँसाउने मात्र काम गरेको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै अग्रहरीले ३ करोड जनताको आस्थाको केन्द्रलाई बन्द गराएर जनताकै अपमान गर्ने काम गरेको बताउनुभयो । संसदमा आफ्नो निहित स्वार्थ छाडेर धेरै विचार र ध्यान पुर्याएर काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले संसदमा व्यक्तिगत स्वार्थमा केन्द्रित रहेर काम गर्न नमिल्ने धारणा राख्नु भयो । ‘यहाँ यदि हामीले गलत प्रस्तुति गर्यौँ भने विश्वमा नै हाम्रो देश हास्यको पात्र बन्छ’, उहाँले भन्नुभयो ।
अग्रहरीले देश र राजनीति क्षणिक नहुने बताउनुभयो । उहाँले आफ्ना अग्रज नेताले यो व्यवस्था ल्याउन गरेको योगदान र धैर्यता सम्झन विपक्षीलाई आग्रह गर्नुभयो । ‘देश दुई दिनको हुँदैन, राजनीति पनि दुई दिनको हुँदैन, धैर्यता आवश्यक हुन्छ, धैर्यता राख्नु पर्छ’, उहाँले भन्नुभयो ।
आफूलाई ढङ्ग नभएको कुरा सिक्न पनि उहाँले प्रतिपक्षीलाई आग्रह गर्नुभयो । एमालेले दुई महिनामा नै सरकार छाड्दा पनि कुनै अपसोस नमानेको उहाँले स्मरण गराउनुभयो । ‘सत्ताबाट हट्दैमा राजनीति सकिँदैन’, उहाँले भन्नुभयो ।
अग्रहरीले देशनै सर्वेसर्वा भएको बताउँदै देशको बारेमा विचार गरेर बोल्न आग्रह गर्नुभयो । संसद् गाउँ घरमा जस्तो झगडा गर्ने थलो नभए बताउँदै उहाँले संसदमा तेरो मेरो भन्ने खालका झगडा नगर्न आग्रह गर्नुभयो । राष्ट्रको हितमा झगडा गरौँ, राष्ट्रको हितमा झगडा गरौँ, त्यो झगडा हामीले देखिरहेका छैनौँ’, उहाँले भन्नुभयो ।
लामो राजनीतिक इतिहास भएको नेपाली कांग्रेस संसदमा बचपनी हरकत देखाएको अग्रहरीले बताउनुभयो । कांग्रेसबाट यस्तो अपेक्षा नराखिएको उहाँले टिप्पणी गर्नुभयो । ‘राष्ट्र भन्दा ठुलो हामी कसैलाई नठानौँ, आफैँलाई पनि नठानौँ, समय बरबाद नगरौँ’, उहाँले भन्नुभयो ।
