काठमाडाैं । नेकपा एमालेका सांसद् तथा उपाध्यक्ष विष्णु प्रसाद पाैडेलले बजेट तुलनात्मक रुपमा सन्तुलित रहेकाे बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे छलफलमा भाग लिँदै सांसद् पाैडेलले बजेट तुलनात्मक रुपमा छाेटाे र सन्तुलित रहेकाे बताउनुभयाे ।
मानिसहरुले २० खर्बकाे हाराहारीकाे बजेट आउँछ भनेर चर्चा चलिरहेका बेला अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्ब ३० कराेडकाे बजेट प्रस्तुत गर्नुभएकाे भन्दै उहाँले याे आकार तुलनात्मक रुपमा सन्तुलित रहेकाे बताउनुभयाे ।
आकारकाे स्राेतकाे प्रबन्ध गर्ने अभिभारा सजिलाे नभएकाे भन्दै सांसद् पाैडेलले याे सीमासम्म जान सकिन्छ र स्राेतकाे प्रबन्ध गर्ने साेचसाथ बजेट आएकाे बताउनुभयाे । पूर्व अर्थमन्त्री समेत रहनुभएका पाैडेलले बजेट राजस्व संकलन, स्राेत परिचालन र अन्तर्राष्ट्रिय सहयाेग परिचालनका सन्दर्भमा उच्च आकांक्षी रहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'यसलाई कतिपयले महत्वकांक्षी भनेका छन्, तर म उच्च आकांक्षी भन्छु, राजस्व संकलन, स्राेत परिचालन र अन्तर्राष्ट्रिय सहयाेग परिचालनका सन्दर्भमा यसले उच्च आकांक्षा राखेकाे छ ।'
अर्थमन्त्री पुनले आफैं चुनाैती सृजना गर्ने र सामना गर्ने अठाेट बजेटमा गर्नुभएकाे सांसद् पाैडेलले बताउनुभयाे । सहज यात्रा जाे कसैले सजिलै गर्न सक्ने भन्दै उहाँले चुनाैतीपूर्ण यात्रा तय गर्ने र त्यसलाई पार गर्ने कुरा बढी महत्वपूर्ण हुने बताउनुभयाे ।
०८१ जेठ १६ सम्म करिब ८ खर्ब ६७ अर्ब मात्रै राजस्व उठेकाे भन्दै सांसद् पाैडेलले चालु आर्थिक वर्षमा ११ खर्ब उठ्न सक्ने अनुमान गरिएकाे बताउनुभयाे ।
आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री पुनले राजस्व परिचालनका लागि १२ खर्ब ६० अर्बकाे लक्ष्य निर्धारण गर्नुभएकाे भन्दै उहाँले याे लक्ष्य पूरा गर्न त्यति सजिलाे नभएकाे बताउनुभयाे । मेहनतका साथ मात्रै सम्भव हुने राजस्वकाे लक्ष्य अर्थमन्त्रीले निश्चित गर्नुभएकाे सांसद् पाैडेलले बताउनुभयाे ।
स्राेत परिचालन र वैदेशिक सहयाेग परिचालन सन्दर्भमा अर्थमन्त्रीले तय गर्नुभएकाे लक्ष्य चुनाैतीपूर्ण रहेकाे तर असम्भव नरहेकाे भने नरहेकाे उहाँले बताउनुभयाे ।
राजस्वले साधारण खर्च धान्न नसक्ने र ऋण तिर्नका लागि ऋण लिनुपर्ने अवस्था अहिले रहेकाे सांसद् पाैडेलले बताउनुभयाे । वैदेशिक सहयाेगका आयाेजनाकाे काउण्टर पार्ट फण्ड बेहाेर्नुपर्ने दाताबाट ब्यहाेर्ने चुनाैति चिन्ताजनक ठाउँमा रहेका बताउनुभयाे ।
खर्च गर्ने अवस्था चिन्ताजनक अवस्थामा रहेकाे उहाँले बताउनुभयाे ।
बजेट तयार पार्दा अर्थमन्त्री पुनले सत्तारुढ दलसँग छलफल गरेर बजेट ल्याएको भए थप परिस्कृत र राम्रो आउने पनि उहाँले बताउनुभयाे ।
