काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद् तथा सचिव देवेन्द्र पौडेलले जनतामा रहेकाे निराशा चिर्ने गरी बजेट आएको बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे छलफलमा बाेल्दै सांसद् पाैडेलले असहज परिस्थितिमा पनि अर्थमन्त्री वर्षमान पुनले अर्थप्रणालीलाई ट्रयाकमा ल्याउनेगरी बजेट ल्याउनुभएकाे बताउनुभयाे । 'याे बजेट निक्कै असहज स्थितिमा अर्थमन्त्रीले अर्थप्रणालीलाई ट्रयाकमा ल्याउन, पछिल्लाे १५ वर्षमा बढ्दै गएकाे निराशालाई लयमा ल्याउनका लागि काेशिस गरेर मेहनत गरेर ल्याउनुभएकाे छ, कतिपय अपुगता हाेलान्'- उहाँले भन्नुभयाे ।
सीमित स्राेत साधनबीच पनि सन्तुलित किसिमकाे बजेट ल्याएकाे भन्दै सांसद् पाैडेलले अर्थमन्त्री पुनलाई धन्यवाद दिनुभयाे । उहाँले बजेट कार्यान्वयनमा जोड दिन सरकारलाई सुझाव दिनुभयाे । पछिल्लाे ४-५ वर्षमा भूकम्प, काेभिड लगायतका कारण बजेट लयमा हिँड्न नसकेकाे भन्दै सांसद् पाैडेलले अहिले लयमा हिँड्नेगरी बजेट आएकाे बताउनुभयाे ।
उहाँले देशकाे अर्थतन्त्रमा समस्यामा रहेपनि बजेटले सम्भव हुने लक्ष्य लिएकाे बताउनुभयाे । आवश्यक तर राेकिएका याेजना अघि बढाउन पनि सांसद् पाैडेलले अर्थमन्त्री पुनलाई सुझाव दिनुभयाे ।
