काठमाडौं । प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले सरकारले ल्याएको बजेट तुलनात्मक रूपमा सन्तुलित रहेको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा बजे माथिको छलफलमा भाग लिँदै पौडेलले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट आकारको हिसाबले सन्तुलित नै भएको बताउनुभयो । पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेलले यो आकारको बजेटको स्रोत जुटाउने अभिभारा त्यति सजिलो नभए पनि असम्भव भने नभएको बताउनुभयो । ‘सजिलो नभए पनि यो सीमासम्म जान सकिन्छ’, उहाँले भन्नुभयो ।
कतिपयले बजेटलाई महत्वाकांक्षी भनेका भए पनि आफू त्यो पक्षमा नरहेको उहाँले बताउनुभयो । ‘म यसलाई महत्वकांक्षी भन्दिन, उच्च आकांक्षी, राजश्व सङ्कलनका सन्दर्भमा, स्रोत परिचालनका सन्दर्भमा, अन्तराष्ट्रिय सहयोग परिचालनका सन्दर्भमा यसले उच्च आकांक्षा राखेको छ, यसलाई महत्वाकांक्षी भन्नुभन्दा उच्च आकांक्षी पदावली प्रयोग गर्नु राम्रो हुन्छ’, पौडेलले भन्नुभयो ।
पौडेलले अर्थमन्त्रीले बजेटमार्फत आफैले चुनौती खडा गर्ने र सामना गर्ने लक्ष राख्नु भएको उहाँले बताउनुभयो । सहज यात्रा जसले पनि गर्न सक्ने बताउँदै पौडेलले अर्थ मन्त्री वर्षमान पुनले बजेट मार्फत चुनौतीपूर्ण यात्रा तय गरेको बताउनुभयो । ‘राजस्वले चालू खर्च धान्न नसकेको र ऋण तिर्न ऋण नै लिनुपर्ने अवस्थामा उच्च आकांक्षा राखेर बजेट ल्याउनु अर्थमन्त्रीले जोखिम उठाउन खोज्नु हो’, पौडेलले भन्नुभयो ।
उपभोक्ता ठगिएको बेलामा उपभोक्ता अदालत गठन गर्न खोज्नु, बजेटले कृषि क्षेत्रमा लगानीको दशकको कुरा गर्नु र सूचना प्रविधिमा पनि लगानी दशकको पहिलो वर्षको रूपमा लिनु सकारात्मक भएको उहाँले बताउनुभयो । मुलुक र राष्ट्रका निम्ति अप्ठेराका बिचमा काम गर्ने प्रतिबद्धता अर्थमन्त्रीले व्यक्त गरेको बजेटमा देखिएको पौडेलले बताउनुभयो ।
राजश्व उठाउने बजेटमा राखिएको लक्ष प्राप्त गर्न त्यति सजिलो नभए पनि मिहिनेतका साथ लाग्दा सो लक्ष पूरा गर्न सकिने उहाँले स्पष्ट पार्नुभयो । वैदेशिक सहयोग ५२ अर्बको लक्ष प्राप्त गर्न निक्कै मेहनत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । त्यस्तै वैदेशिक ऋण प्राप्तिको प्रस्ताव पनि निक्कै चुनौतीपूर्ण भए पनि पुरा नै गर्न नसकिने प्रस्ताव भने नभएको पौडेलले बताउनुभयो । आन्तरिक ऋणको प्रस्ताव पनि अधिकतम सीमामा रहेको उहाँको भनाइ छ ।
नेपालको खर्च गर्ने क्षमता चिन्ताजनक अवस्थामा रहेको बताउँदै पौडेलले पुँजीगत खर्च गर्ने कुरा निक्कै चुनौतीपूर्ण रहेको बताउनुभयो । पुँजीगत रकम खर्च गर्ने अठोटमा अर्थ मन्त्रीलाई सफलता मिलोस् भन्दै उहाँले शुभकामना दिनुभयो ।
बजेटले धेरै राष्ट्रिय महत्वका कार्यक्रम र आयोजनालाई निरन्तरता दिने प्रस्ताव गरेको भन्दै उहाँले धन्यवाद दिनुभयो । ती आयोजनामा बजेट कम हुन नदिन उहाँले आग्रह गर्नुभयो ।
६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष त्यति सजिलो नभए पनि असम्भव भने नभएको उहाँले दाबी गर्नुभयो । ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष प्राप्त हुने गरी व्यवस्थापन र खर्च गर्न सक्नु पर्ने पौडेलले बताउनुभयो ।
उहाँले सरकामा सहभागी भएका राजनीतिक दल र प्रमुख नेताहरूसँग छलफल गरेर अझ राम्रो बजेट ल्याउन सकिने उहाँले बताउनुभयो । ‘त्यसरी सल्लाह लिन पाएको भए अझ राम्रो हुन्थ्यो’, उहाँले भन्नुभयो ।
नयाँ चरणको आर्थिक सुधारका योजना के हुन् भन्ने विषयमा स्पष्ट हुनुपर्ने उहाँले बताउनुभयो । आर्थिक सुधारको सिफारिस गर्न आयोग बनाउने भन्दा पनि राजनीतिक नेतृत्वमा नै बसेर छलफल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कृषिको लगानी दशक भनिएको भए पनि कृषिमा बजेट घटेको भन्दै पौडेलले यसले राम्रो सन्देश नगएको बताउनुभयो । त्यसैले यसमा पुनर्विचार गर्न पौडेलले अर्थमन्त्रीलाई सुझाव दिनुभयो ।
विश्वव्यापी रूपमा गाँजाको उत्पादनको विषयमा बहस चलिरहेको बताउँदै पौडेलले गाँजाको कानुन बनाउनु अघि यसका लाभ र हानिका बारेमा राम्रो अध्ययन गर्न आवश्यक रहेको बताउनुभयो । अहिले नै यस विषयमा निष्कर्षमा पुग्नु हतारो हुने उहाँको धारणा छ । देशमा १६ लाख पर्यटक भित्र्याउने लक्ष उच्च आकांक्षी भएको बताउँदै पौडेलले यसको तयारीमा लागिहाल्नु पर्ने बताउनुभयो । विमानस्थल परिचालन र आवश्यक पूर्वाधार र अनुकूल वातावरण निर्माणको काममा लाग्न उहाँले सुझाव दिनुभयो ।
स्थानीय सरकारका याेजनामा संघीय सरकार बाेल्न आवश्कय नरहेकाे उहाँले सुझाव दिनुभयाे । संघीय सरकार राष्ट्रिय महत्वका याेजनामा केन्द्रित हुनुपर्नेमा उहाँले जाेड दिनुभयाे ।
