काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् धवल शमशेर जबराले बजेटका केही पक्ष राम्रा रहेका बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे छलफलमा भाग लिँदै सांसद् जबराले बजेटले अर्थतन्त्रकाे चुनाैती र मन्दीकाे सम्बाेधन गर्न नसक्ने तर केही पक्ष राम्रा रहेका बताउनुभयाे ।
स्टार्टअप कोष, सूचना प्रविधिकाे क्षेत्रमा राेजगारी सृजना, औषधिका लागि गाँजा खेती लगायत पक्ष राम्रा रहेका उहाँले बताउनुभयाे । बजेटलाई राजस्व संकलन गर्ने र खर्च गर्ने ठूलो चुनौती रहेकाे भन्दै सांसद् जबराले बजेट कार्यान्वयनमा जाेड दिनुपर्ने बताउनुभयाे ।
औषधिका लागि गाँजा खेतीकाे कानुनी व्यवस्था राम्राे भएपनि यसकाे नियमन राम्राे हुनुपर्ने उहाँकाे सुझाव छ । आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशककाे प्रस्थान वर्षकाे रूपमा मनाउने र राेजगारी सृजना गर्ने कुरा सकारात्मक रहेकाे सांसद् जबराले बताउनुभयाे ।
स्टार्टअप उद्यमीको वित्तीय आवश्यकता सम्बोधन गर्नका लागि १ अर्बको नेपाल स्टार्टअप कोष खडा गर्ने, सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्बकाे निर्यात गर्ने, ५ लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष राेजगारी सिर्जना गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशककाे प्रस्थान वर्षकाे रूपमा अगाडि बढाउने, औषधिका लागि गाँजा खेतीकाे कानुनी व्यवस्था गरिने बजेटमा उल्लेख छ ।
रासायनिक मलकाे कारखानाबारे बजेटले केही नबाेलेकाे भन्दै उहाँले असन्तुष्टि जनाउनुभयाे । द्वन्द्व पीडितका नाममा ठूलाे बजेट राखिएकाेमा राप्रपाकाे कुनै आपत्ति नरहेकाे तर द्वन्द्वपीडितकाे नाममा कार्यकर्ता पाेस्न नपाइने चेतावनी समेत सांसद् जबराले बताउनुभयाे ।
आलु र प्याजकाे कर घट्नु राम्राे भएकाे उहाँले बताउनुभयाे ।
