काठमाडौं । जसपा नेपालकी सांसद् रञ्जुकुमारी झाले जनकपुरलाई वेडिङ हब र लुम्बिनीलाई बर्थिङ हब बनाउने घाेषणाले पर्यटकसँगै कूटनीतिक सम्बन्ध पनि राम्राे बन्ने बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष ०८१-०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद् झाले जनकपुरलाई वेडिङ हब र लुम्बिनीलाई बर्थिङ हब बनाउने बजेटकाे घाेषणा कार्यान्वयन हुनुपर्ने बताउनुभयाे । भाैतिकतावादमा मात्र नभएर अध्यात्मवादमा पनि जाेड दिनुपर्ने उहाँले बताउनुभयाे ।
विगतमा शेरबहादुर तामाङले गाँजा खेतीकाे कुरा गर्दा आफूले विराेध गरेकाे तर त्याे राम्राे कुरा रहेछ भन्ने अहिले महशुस भएकाे सांसद् झाले बताउनुभयाे । गाँजा खेतीले ग्रीन टुरिजम बढ्ने, मेडिसिन र हिलिङ टुरिजम बन्ने कुरा आफूले बुझेकाे उहाँले बताउनुभयाे । गाँजा खेतीले आर्थिक सवलीकरण हुन्छ भने सरकारले कानुन बनाउन ढिलाे गर्न नहुने बताउनुभयाे ।
हाइटी हबकाे परिकल्पना राम्राे पक्ष भएकाे सांसद् झाले बताउनुभयाे । रेमिट्यान्सबाट बनाइने सार्वजनिक सम्पत्ति काेषकाे धारणा स्वागतयाेग्य भएकाे उहाँले बताउनुभयाे ।
प्याज र आलूको भ्याट हटाउँदा गृहिणीहरु साह्रै खुशी भएका समेत सांसद् झाले बताउनुभयाे ।
मधेशमा कृषि, शिक्षा र स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुपर्ने भन्दै उहाँले अर्थमन्त्री वर्षमान पुनकाे ध्यानाकर्षण गराउनुभयाे । राम राजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र गजेन्द्र नारायण सिंह अस्पताललाई बजेट छुट्याइएकाेमा सांसद् झाले खुशी व्यक्त गर्नुभयाे ।
चुरेपीडितका विषयमा बजेटले धेरै सम्बोधन गर्न नसकेको भन्दै उहाँले काठमाडाैंमा धर्नामा बसेका चुरे पीडितसँग कुरा गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
दिलीप महतोलाई पर्यावरण शहीद घोषणा गर्न र कारगारभित्र रहेका युवा जनशक्तिलाई राेजगारसँग जाेड्नेगरी बजेट छुट्याउनुपर्ने सांसद् झाले बताउनुभयाे ।
बजेटमा आएका नयाँ याेजना कार्यान्वयन गर्न उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
