काठमाडाैं । नेपाली कांग्रेसका सांसद् धनराज गुरुङले चितवनकाे साैराह र मुगुकाे रारालाई हनिमुन हब बनाउनुपर्ने बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा आगामी वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिकाे छलफलमा भाग लिँदै सांसद् गुरुङले जनकपुरलाई वेडिङ हब र लुम्बिनीलाई बर्थिङ हब बनाउने घाेषणा गर्नु सकारात्मक रहेकाे बताउनुभयाे ।
उहाँले वेडिङ र बर्थिङ भएपछि पर्यटक आकर्षित गर्न हनिमुन अब पनि आवश्यक रहेकाे बताउनुभयाे । 'विवाहित जोडीहरु त्यहाँ जान्छन्, नव दुलाहा, दुलही त्यहाँ जान्छन्, हात्ती चढ्छन्, घुम्छन्, त्यसैले साैराहालाई हनिमुन सिटी बनाऔं, रारा ताल मात्रै हेर्न जानुभन्दा पनि त्यहाँ एउटा हनिमुनशिप बनाइदिउँ, १ हजार जोडी अट्ने शिप बनाइदिउँ, हनिमुन शिपमा गएर हनिमुन मनाउँछन्, के फरक पर्छ ? यसरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ'- सांसद् गुरुङले बताउनुभयाे । धार्मिक र सांस्कृतिक पर्यटन बढाउनुपर्ने उहाँले बताउनुभयाे ।
पूर्व कानुनमन्त्री समेत रहनुभएका सांसद् गुरुङले गैरकानुनी काराेबार बन्द गर्न सके त्यसबाट राजस्व उठाउन सकिने बताउनुभयाे । कानुन मन्त्री हुँदा गाँजा खेतीका लागि कानुनी बनाउन आफूले पहल गरेपनि पूरा नभएकाे उहाँले बताउनुभयाे । कानुन बनाएर औषधिजन्य प्रयाेजनका गाँजा खेती गरेमा यसबाट २ खर्ब राजस्व वृद्धि गर्न सकिने सांसद् गुरुङले बताउनुभयाे ।
घरेलु मदिराका लागि पनि कानुन बनाउन आफूले आग्रह गरेकाे तर त्याे पनि पूरा नभएकाे उहाँले बताउनुभयाे । कानुन बनाएर घरेलु मदिरा ब्राण्डिङ गर्दा २ खर्ब राजस्व उठ्ने उहाँले बताउनुभयाे । आफू कानुनमन्त्री हुँदा जडिबुटिका कानुन तर्जुमा गरेर ल्याउनुस् भन्दा तालुक मन्त्रालयकाे मन्त्री र सचिवले अटेर गरेकाे सांसद् गुरुङले बताउनुभयाे । जडिबुटीबाट थप २ खर्ब राजस्व उठाउन सकिने उहाँले बताउनुभयाे ।
यसाे गर्न सके आन्तरिक र बाह्य ऋण लिनुनपर्ने भन्दै उहाँले हुँदैन भन्ने प्रवृत्ति बन्द गर्नुपर्ने बताउनुभयाे । नेपालमा भ्यु टावर आवश्यक नरहेकाे बताउँदै सांसद् गुरुङले भन्नुभयाे - 'नाे नट अगेन भ्युटावर भनाैं ।'
