काठमाडाैं । नेकपा एमालेका सांसद् तारा लामा तामाङले कञ्चनपुरका उखु किसानलाई तत्काल अनुदान रकम उपलब्ध गराउन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् तामाङले कञ्चनपुरका करिब ४ सय ४७ जना उखु किसानको अनुदान रकम छुट भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयाे ।
सरकारले उखु किसानलाई प्रतिक्विटल ७० रुपैयाँ उखुमा अनुदान रकम दिँदै आएकाे तर कार्यविधि भन्दा पछि दर्ता भएका कञ्चनपुरका करिब ४ सय ४७ जना उखु किसानकाे अनुदान रकम छुट भएकाे उहाँले बताउनुभयाे ।
त्याे रकम उपलब्ध गराउन पटकपटक पहल गरिएपनि अहिलेसम्म पनि भुक्तानी हुन नसकेकाे सांसद् तामाङले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'जिल्ला उखु अनुदान भुक्तानी समितिले २०८० भदाै महिनादेखि सरकारलाई उखुकाे अनुदान रकम भुक्तानीका लागि माग गर्दै आएकाेमा, भुक्तानी नभएपछि पुन: ०८१ वैशाख ४ गते भुक्तानी समितिकाे बैठकमार्फत नेपाल सरकारसँग माग गर्दै आएकाे र म स्वयम्ले साे क्षेत्रकाे जनप्रतिनिधिकाे हैसियतले यस सदन, सम्बन्धित निकाय र मन्त्रालयमा भुक्तानीकाे लागि माग गर्दै आएकाेमा हालसम्मपनि अनुदान रकम भुक्तानी नभएकाले, यथाशीघ्र उखु किसानलाई अनुदान रकम उपलब्ध गराउन यस सदनमार्फत सरकारसँग जाेडदार माग गर्दछु'-सांसद् तामाङले भन्नुभयाे ।
