काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद् प्रकाश अधिकारीले बजेटमा सरकारले कार्यक्रम मात्र थुपारेकाे बताउनुभएकाे छ ।
सोमबार बसेकाे प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१-०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलमा भाग लिँदै सांसद् अधिकारीले अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रिझाउनेगरी कार्यक्रम ल्याएकाे बताउनुभयाे ।
प्रधानमन्त्री प्रचण्डकी स्वर्गीय पत्नी सीता दाहालको नाममा प्रतिष्ठान, प्रधानमन्त्री छोरी परियाेजना जस्ता कार्यक्रम राखेर अर्थमन्त्रीले प्रधानमन्त्रीलाई रिझाउन खाेजेकाे भन्दै उहाँले बजेटबाट प्रधानमन्त्रीकै छाेरी नै खुशी नहुने बताउनुभयाे ।
बजेटमा प्रधानमन्त्री ज्वाइँ विकास परियोजना खाेइ भन्ने प्रश्न समेत सांसद् अधिकारीले गर्नुभयाे । '१-२ जनाले मलाई सोध्दै थिए - प्रधानमन्त्रीको ज्वाइँ विकास परियोजना खोइ ? प्रधानमन्त्री दाजुभाइ परियोजना खोइ ? प्रधानमन्त्री भतिजा-भतिजी परियोजना खोइ ? छोरीलाई प्रवर्द्धन गर्ने कार्यक्रम पनि कसरी भने जम्मा १० कराेड दिएर, छाेरी पनि रिसाउने भयाे प्रधानमन्त्रीजी पनि रिसाउने हुनुभयो, जनतालाई अलमल्याउने कहीँ भक्तिभाव गर्ने काम नगराैं'- उहाँले भन्नुभयाे ।
दलहरु विभाजनमा मात्र क्रमभंगता गरेर नहुने भन्दै सांसद् अधिकारीले बजेट कार्यान्वयनमा पनि क्रमभंगता गर्न सुझाउनुभयाे । बजेटमा कृषि दशक घाेषणा गरिएकाे तर वैज्ञानिक कृषि प्रणालीबारे कुरा नगरिएकाे र कृषिकै बजेट घटाइएकाे बताउनुभयाे ।
