काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद् चित्रबहादुर केसीले सदनमा बजेटमाथिकाे छलफल वाक्कलाग्दाे भएकाे बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१-०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलमा भाग लिँदै सांसद् केसीले बजेटमाथिकाे छलफल सुन्दा वाक्क लागेर आफू बैठकमै एकछिन निदाएकाे बताउनुभयाे ।
बजेटमाथिकाे छलफलकाे कुनै औचित्य नरहेकाे भन्दै उहाँले संसद् रमाइलाे नभएकाे बताउनुभयाे । 'यहाँ जतिसुकै उप्रेपनि, अर्थमन्त्रीले पेस गरेकाे बजेट तलमाथि गर्न नपाइने, यहाँ जे आएकाे छ त्यही स्वीकार गर्नुपर्ने भएपछि यस्ताे छलफलकाे पनि औचित्य लाग्न छाेड्याे, म त छलफलकाे कुरा सुन्दा वाक्क लागेर निदाएँछु, रमाइलाे छैन संसद् दिक्कलाग्दाे छ'- सांसद् केसीले बताउनुभयाे ।
सरकारले ल्याएकाे बजेटले दलाल पुँजीको आगमन वृद्धिका निम्ति बाटो खोलेको आराेप पनि उहाँले बताउनुभयाे । समाजवादउन्मुख दिशामा बजेटमा कुनै कार्यक्रम नराखिएकाे उहाँले बताउनुभयाे ।
संघीयताका कारण साधारतर्फकाे खर्च बढेकाे सांसद् केसीले बताउनुभयाे । साधारतर्फ बढेकाे खर्च पूर्ति गर्न करकाे दायरा वर्षेनी बढाउनुपरेकाे भन्दै उहाँले जसकाे परिणामा नेपाली जनतामाथि अनावश्यक आर्थिक बाेझ बढेकाे उहाँले बताउनुभयाे ।
वैदेशिक ऋण लिएर संघीय संरचना धान्ने कुरा गलत भएकाले संघीयता हटाउनुपर्ने समेत सांसद् केसीले बताउनुभयाे ।
बजेटले उत्पादनतर्फ ध्यान दिन नसकेकाे उहाँले बताउनुभयाे । ६१ प्रतिशत बढी रकम प्रशासनिक खर्चका लागि छुट्याइएकाे सांसद् केसीले बताउनुभयाे ।
