काठमाडौं । प्रतिनिधि सभा सदस्य रघुजी पन्तले मनसुनी वर्ष सुरु हुन लागेकोले विपद्को पूर्वतयार र प्रतिकार्य योजना सहित लाग्न सरकारसँग माग गर्नुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पन्तले यस वर्षको मनसुन जेठ ३१ देखि असोजको १८ गतेसम्म रहने र त्यस अवधिमा कोशी प्रदेश धेरै प्रभावित हुने पूर्वअनुमान गरिएको भन्दै त्यसको कस्तो तयारी छ ? भन्ने प्रश्न गर्नुभयो । मनसुनको समयमा मा अत्यधिक वर्षको कारण बाढी, पहिरो र डुबानबाट ४ लाख १२ हजार परिवारका १८ लाख मानिस प्रभावित हुने पूर्वअनुमान गरिएको उहाँले बताउनुभयो । ‘यसको पूर्वतयारी के छ ?’, उहाँले प्रश्न गर्नुभयो ।
पन्तले बाढी पहिरो, डुबानबाट मुलुकलाई बचाउन अहिलेदेखि नै तयारी गर्नुपर्ने बताउनुभयो । संघीय सरकारले प्रदेश सरकार र स्थानीय तहलाई समेत जोडेर यसको काम तत्काल अघि बढाउनु पर्ने सुझाव दिनुभयो ।
