काठमाडौं । प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले कांग्रेसले अवरुद्ध गर्दा संसदमा जनताका समस्याका विषयमा छलफल गर्न नपाएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बाल्दै भट्टराईले संसद्मा जनताका कुरा उठाउन नपाएको भन्दै दुःख व्यक्त गर्नुभयो । ‘यस प्रति हामीलाई दुःख लागेको छ’, उहाँले भन्नुभयो ।
नेपालमा लाखौँ सहकारी पीडितलाई न्याय दिनु पर्छ र ठगी गर्नेलाई उचित कारबाही हुनुपर्छ भनेर नेकपा एमालेले भन्दै आएको भट्टराईले स्मरण गराउनुभयो । तर पछिल्लो समय सो विषयलाई लिएर नेपाली कांग्रेसले जुन रवैया देखायो त्यो सुहाउने कुरा नभएको उहाँले स्पष्ट पार्नुभयो ।
प्रतिनिधि सभामा नेपाली कांग्रेस अत्यन्त उत्ताउलो रूपमा प्रस्तुत भएको भन्दै भट्टराईले आलोचना गर्नुभयो । सहकारी छानबिन गर्नको लागि बनेको अहिलेको संसदीय छानबिन समितिलाई दिइएको म्यानडेटको प्रस्ताव सत्तारुढ दलले एक हप्ता अघि नै गरेका भए पनि कांग्रेसले उत्ताउलो भएर एक हप्तासम्म प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको उहाँले बताउनुभयो । अघिल्लो दिनसम्म देउताजस्तो मानेर कांग्रेसले प्रधानमन्त्री दिएको व्यक्तिलाई भोलिपल्ट बिहानै अपराधी करार गरेको भन्दै कांग्रेसको यो चरित्र दयालाग्दो भएको उहाँले बताउनुभयो ।
नेपाली कांग्रेसको चरित्र काँक्रा खाने र बियाँ अर्काको गालामा टाँस्ने चरित्र देखाएको उहाँले बताउनुभयो । नेपाली कांग्रेसको अनुहारमा कालो लागेको बताउँदै भट्टराईले त्यसलाई पखाल्न ऐना पुछेर नहुने टिप्पणी गर्नुभयो । ‘नेपाली कांग्रेसको अनुहारमा कालो पोतिएको होला, ऐना पुछेर हुँदैन, ऐना पुछ्ने मात्र होइन, पछिल्लो कालमा त नेपाली कांग्रेसका साथीहरू त ऐना फुटाउन नै जानु भएको हो कि जस्तो मलाई लाग्दछ’, उहाँले भन्नुभयो ।
पशुपतिको जलहरी काण्डमा एमाले अध्यक्ष केपी ओली माथि आरोप लागेको र छानबिन गर्दा कुनै कुरा प्रमाणित हुन नसकेको भट्टराईले बताउनुभयो । आज गिरीबन्धु टी स्टेटको विषय पनि एमाले अध्यक्ष प्रति लक्षित गरी उठाइएको बताउँदै उहाँले त्यससँग सम्बन्धित कानुन संसद्ले सहमतिमा नै बनाएको उहाँले बताउनुभयो । अहिले सो विषयलाई उठाएर एमाले अध्यक्ष माथि प्रहार गर्ने षडयन्त्र भएको उहाँले बताउनुभयो ।
भट्टराईले २०४६ अघि र पछिका सबै विषयको छानबिन गर्न नेकपा एमाले तयार रहेको उहाँले बताउनुभयो । प्रत्येक छानबिनमा नेकपा एमाले सगौरव उभिने उहाँले प्रष्ट पार्नुभयो । ‘नेकपा एमाले नै त्यो पार्टी हो, जसले भ्रष्टाचारको आरोप लागेर अख्तियारमा बयान दिन जानु परेको छैन, अदालतमा बयान दिन जानुपरेको छ’, उहाँले भन्नुभयो ।
कुनै पनि आपराधिक घटनामा पार्टीको झण्डा ओढ्ने छुट कसैलाई नभएको उहाँले बताउनुभयो । एमाले सबै छानबिनका रिपोर्टको सामना गर्न तयार रहेको उहाँले प्रष्ट पार्नुभयो ।
नेपाली कांग्रेसले सभामुख माथि महाअभियोगको धम्की दिएको भन्दै उहाँले हुती भए सभामुख विरुद्ध महाअभियोग लगाउन उहाँले चुनौती दिनुभयो । अरूलाई पनि महाअभियोग लगाउने सङ्ख्या एमालेसँग भए पनि एमालेले त्यसको दुरुपयोग नगर्ने उहाँले प्रष्ट पार्नुभयो ।
भट्टराईले काठमाडौं महानगरपालिकाका प्रमुखले आफ्नो संयमता गुमाउँदै जानुभएको भन्दै आलोचना गर्नुभयो । काठमाडौंको सभ्यता माथि नै उहाँले आक्रमण गर्ने प्रयास गरेको भट्टराईले टिप्पणी गर्नुभयो । काठमाडौंका मेयरले युवा र मुलुकको सपना माथि कुठाराघात गरेको उहाँले बताउनुभयो ।
नेताहरू जेल बसेको कुरालाई बालेनले मजाक उडाएको उहाँले बताउनुभयो । अग्रजहरूको त्याग र बलिदानबाट अहिलेको व्यवस्था आएको र काठमाडौंको मेयर बन्ने अवसर मिलेको कुरा नबिर्सन उहाँले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई आग्रह गर्नुभयो । ‘आफ्नै आमाको अस्तित्व माथि चिथोर्दै हुनुहुन्छ, आफ्नै आमाको अस्मिता माथि प्रश्न उठाउनु भएको छ, आफ्नै आमाको अस्मिता माथि प्रश्न उठाउँदै हुनुहुन्छ भने, तपाईँले यो समाजलाई कता लैजाँदै हुनुहुन्छ’, उहाँले भन्नुभयो ।
यस्तो कुरा गर्दा बालेनका साइबर ग्याङले खेद्न सक्ने बताउँदै भट्टराईले साइबर ग्याङको बलले राजनीति नचल्ने बताउनुभयो । एमालेलाई कसैले पनि कसी लगाउनु नपर्ने बताउँदै भट्टराईले एमाले आजको अभिमन्यु भएकोले घेर भित्र पस्न तोड्न सक्ने पार्टी भएको दाबी गर्नुभयो ।
