काठमाडाैं । नेकपा एमालेले पार्टी र पार्टी अध्यक्षमाथि केपी शर्मा ओलीमाथि नियाेजित ढंगले आराेप लगाउने र प्रचार गर्ने षड्यन्त्र भइरहेकाे बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै एमालेका सचिव एवं सांसद् याेगेश भट्टराईले गिरिबन्धु टी-स्टेटकाे कुरा उठाएर एमाले र एमाले अध्यक्ष ओलीमाथि नियाेजित ढंगले हस्तक्षेप गर्ने, प्रचार गर्ने र आराेप लगाउने काम भएकाे बताउनुभयाे ।
सर्वाेच्च अदालतकाे आदेशबमाेजिम संसद्ले गिरिबन्धुबारे कानुन बनाएकाे, त्याे कानुन बनाउँदा कुनै पनि दल र नेपाली कांग्रेसले बिमति नरेहकाे स्मरण गराउँदै उहाँले त्याे कानुन कार्यान्वयनमा भएकाे कमीकमजाेरीबारे सर्वाेच्च अदालतले केही प्रश्न उठाएकाे बताउनुभयाे । अदालतले औंल्याएका कुरालाई लिएर एमालेमाथि प्रहार सुरु भएकाे भन्दै सांसद् भट्टराईले २०४६ पछि ०४६ सालअघि कुन कुन बेलाकाे छानबिन गर्ने हाे त्यसका लागि एमाले तयार रहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - '२०४६ पछि ०४६ सालअघि कुन कुन बेलाकाे छानबिन गर्नुपर्ने हाे एमाले छानबिनका लागि तयार छ, एनसेल, टेरामक्स, बासबारी, काेहलपुर, बाल मन्दिर र बालुवाटार जग्गाकाे गर्ने हाे कि ? कहाँ कहाँ गर्ने हाे ? प्रत्येक कुराकाे छानबिनमा एमाले उभिन तयार छ ।'
एमाले अहिलेसम्म भ्रष्टाचार काण्डमा अदालत र अख्तियारमा बयान दिन जान नपरेकाे पार्टी भएकाे सांसद् भट्टराईले प्रष्ट पार्नुभयाे । उहाँले भन्नुभयाे - 'म सगाैरभ भन्न चाहान्छु एमाले नै त्याे पार्टी हाे जसले आज अदालतमा भ्रष्टाचारीकाे आराेप लगाएर बयान दिन जानुपरेकाे छैन, अख्तियारमा बयान दिन जानु परेकाे छैन, पार्टीकाे केन्द्रीय समितिमा दायाँ पनि बायाँ पनि दाग लागेकाे व्यक्तिलाई राखेर बैठक राख्नुपर्ने वाध्यता नेकपा एमालेसँग कम्तिमा छैन ।'
जबजमा विश्वास गर्ने र मार्स्कवादी पार्टी एमाले नेपालकाे माटाेमा बुद्धवादी भएकाे भन्दै उहाँले एमालेले कसैमाथि अन्यथा व्यवहार नगर्ने, हात नउठाउने, गलत ढंगले टिप्पणी नगर्ने, जिउँदै मानिसलाई इँटाकाे भट्टीमा पाेल्ने हर्कत कहिल्यै नगर्ने भन्दै कांग्रेप्रति कटाक्ष गर्नुभयाे ।
एमाले प्रत्येक छानबिनका लागि तयार रहेकाे भन्दै उहाँले छानबिन समिति बनाएर छानबिन गर्न चुनाैती दिनुभयाे । सभामुखलाई महाभियाेगकाे चर्चा सुनेकाे भन्दै उहाँले विगतमा महाभियाेगकाे दुरुपयाेग कसरी भयाे भन्ने प्रश्न गर्नुभयाे । सांसद् भट्टराईले भन्नुभयाे - 'सर्वाेच्च अदालतका बहालवाला प्रधानन्यायाधीश शुशीला कार्की र चाेलेन्द्र शमशेरमाथि महाभियाेग किन आयाे ? आज फेरि सभामुखलाई महाभियाेगकाे धम्की दिइँदैछ, तपाइँसँग महाभियाेग लगाउने संख्या हाेला, याे पनि साेच्नुस् अरुसँग पनि संख्या छ, तर याे संख्याकाे दुरुपयाेग एमालेले गर्दैन, त्यसैले एमाले यस्ता धम्कीबाट डराउँदैन ।'
कांग्रेसको चरित्र काँक्रा आफू खाने र बियाँ अर्काको गालामा टाँस्ने चरित्र देखाएको भन्दै उहाँले त्यसाे नगर्न चेतावनी दिनुभयो । नेपाली कांग्रेसको अनुहारमा कालो लागेको भन्दै सांसद् भट्टराईले त्यसलाई पखाल्न ऐना पुछेर नहुने बताउनुभयाे । 'नेपाली कांग्रेसको अनुहारमा कालो पोतिएको होला, ऐना पुछेर हुँदैन, ऐना पुछ्ने मात्र होइन, पछिल्लो कालमा त नेपाली कांग्रेसका साथीहरू त ऐना फुटाउन नै जानु भएको हो कि जस्तो मलाई लाग्दछ'- उहाँले भन्नुभयो ।
एमाले हरेक कुराकाे छानबिनका लागि तयार रहेकाे सांसद् भट्टराईले प्रष्ट पार्नुभयाे । 'कुनै बेला वाइडबडीमा चर्काे चर्काे कुरा उठाइयाे, आज वाइडबडी किन उठ्दैन, किनभने वाइडबडीकाे छानबिनमा एमालेकाे काेही पनि संलग्न छैन, काे काे संलग्न छ प्रष्ट देखिएकाे छ, त्यसपछि च्याप्टर क्लाेज भयाे, भुटानी शरणार्थीमा सेटिङ गरेर आफ्ना पलाधिकारी छुटाउन एमाले गएकाे छैन, हामी त कानुनमा अनुसन्धानका लागि सहयाेग गर्नुस् भनेर हामीले हाम्रा पदाधिकारीलाई भनेका छाैं'- उहाँले भन्नुभयाे ।
