काठमाडौं । प्रतिनिधि सभा बैठकमा अर्थ मन्त्री अनुपस्थित हुनुभएपछि मंगलबारको प्रतिनिधि सभा बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्देनले बोल्ने बेला अर्थ मन्त्री खोजेपछि उहाँ नआउँदा १५ मिनेटका लागि बैठक स्थगित गरिएको घोषणा सभामुख देवराज घिमिरेले गर्नुभएको हो ।
यस अघि सभाको अध्यक्षता गरिरहनुभएकी उपसभामुखसँग अर्थमन्त्री नआएको विषयमा लिङ्देनको जुहारी जस्तै चलेको थियो । प्रतिनिधि सभामा बोल्ने सांसदले सभामुखसँग दोहोरी खेल्न नमिल्ने आवाज उठेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् उठेर आपत्ति जनाएका थिए ।
सांसद् ज्ञानबहादुर शाहीले बजेट छलफलमा अर्थ मन्त्री खोज्नु जुहारी नहुने बताउनुभएको थियो । त्यस पछि सभामुखले अर्थ मन्त्री राष्ट्रिय सभा बैठकमा जानु भएकोले १५ मिनेटका लागि बैठक स्थगित गरेको घोषणा गर्नुभएको थियो ।
