काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद् सञ्जय गौतमले संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् गाैतमले संविधान निर्माणमा एकजुट भएजस्तै यसमा रहेका कमी कमजाेरी संशाेधनका लागि पनि दलहरु एक ठाउँमा उभिनुपर्ने बताउनुभयाे ।
उहाँले दलगत आग्रह र पूर्वाग्रहलाई छाडेर संविधान संशोधनका लागि यही संसद्बाट राष्ट्रिय सरकार निर्माण गर्नुपर्ने बताउनुभयाे । 'देशलाई माया गराैं, दलगत आग्रह र पूर्वाग्रहलाई छाडेर संविधान संशोधनका लागि राष्ट्रिय सरकार निर्माण गरौँ, यही संसद् र संविधानभित्र रहेर राष्ट्रिय सरकार निर्माण गर्न हामी सक्छौं, यो संविधानलाई संशोधन गरौँ, मुलुकलाई सुशासनको प्रत्याभूति दिऔं, जनतामा आशा भराेसा पैदा गर्ने एउटा बाटाे खाेजाैं, अनि मात्रै हामी अगाडि बढ्न सक्छौँ'- सांसद् गाैतमले भन्नुभयाे ।
बरु अर्ली इलेक्सनकाे कल्पना गर्न सकिने उहाँले बताउनुभयाे । समयमै संविधान संशाेधन गरेर राजनीति स्थिरता दिन नसके, सुशासनकाे प्रत्याभूति दिन नसके, भ्रष्टाचार नियन्त्रण गर्न नसके ठूलाे दुर्घटनाबाट मुलुकलाई जाेगाउन नसकिने सांसद् गाैतमले बताउनुभयाे ।
संविधान बनाउँदा एकजुट भएजसरी संविधानमा भएका कमीकमजाेरी केलाएर संशाेधन गर्नका लागि पनि दलहरु एक हुनुपर्ने उहाँले बताउनुभयाे । आफूहरुसँग धेरै ठूला विकल्प नभएकाे भन्दै उहाँले सत्ताकाे जाेडघटाउ सधैं नचल्ने बताउनुभयाे ।
देशमा अहिले जनता निराश भएका र सरकार आत्मरतिमा रमाएकाे आराेप सांसद् गाैतमले जनाउनुभयाे । 'के याे देश याे स्थिति चुपचाप सहन सक्छ ? यही रुपकाे संघीयता, निर्वाचन प्रणाली, सरकार र यही रुपकाे शासन व्यवस्था अब सम्भव छ ? मलाई लाग्दैन, हामी अनावश्यक समय खेर फाल्दैछाैं, देश बर्बाद पार्दैछाैं'- उहाँले भन्नुभयाे ।
जुन राज्यमा शासकहरु भ्रष्ट र व्यभिचारी हुन्छन्, शासन गर्नेसँग नैतिक आचरण हुँदैन त्यस देशका कर्मचारी, न्यायपालिका कस्ता हुन्छन् भन्ने प्रश्न सांसद् गाैतमले गर्नुभयाे ।
अहिलेसम्म बाढी पीडितले राहत नपाएकाे, बर्दियामा जीवजन्तुलाई पानी नहुँदा बस्ती पसेकाे अवस्था रहेकाे उहाँले बताउनुभयाे ।
