काठमाडौं । प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डेले सरकारले ल्याएको बजेट महत्त्वाकाङ्क्षी भएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बजेट माथिको छलफलमा बोल्दै पाण्डेले बजेटको आकार हेर्दा कार्यान्वयनमा शंका बढेको बताउनुभयो । ‘यो कार्यान्वयन हुन शंका छ’, उहाँले भन्नुभयो ।
चालु खर्च घट्ने गरी व्यापक सुधारका कार्यक्रम सरकारले ल्याउन नसकेको उहाँले बताउनुभयो । ‘यो तपाईँको बजेट धरापमा पर्छ’, उहाँले भन्नुभयो ।
९० प्रतिशत भन्दा बढी वामपन्थी सांसद भएको सरकार, कम्युनिष्ट पार्टीको प्रधानमन्त्री र अर्थ मन्त्री भएको बेला ल्याएको बजेट कस्तो खालको बजेट आयो ? भनि उहाँले प्रश्न गर्नुभयो ।
बजेट निर्माणमा सत्तासीन दलसँग पनि राम्रो छलफल नभएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । यसरी ल्याएको बजेट कस्तो बन्छ ? भन्दै पाण्डेले प्रश्न गर्नुभयो ।
