काठमाडौं । प्रतिनिधि सभा सदस्य आर्जु राणा देउवाले सरकारले ल्याएको बजेट बोलीमा एउटा व्यवहारमा अर्को भएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बजेट माथिको छलफलमा बोल्दै राणाले बजेट सुन्दा राम्रो तर व्यवहारमा फरक भएको बताउनुभयो । ‘सुनिँदा राम्रो तर यथार्थमा नहुने कुरा बजेटमा नलेखेकै राम्रो हो कि ?’ उहाँको सुझाव छ ।
उहाँले बजेट भाषणमा बोलिएको र लेखिएको कुरामा मेल नखाएको बताउनुभयो । बजेटमा विभिन्न आकर्षक कुरा गरिएको भए पनि बजेट व्यवस्था भने त्यो अनुसार नभएको देउवाको भनाइ छ ।
सरकारले ल्याएको बजेटमा कृषि क्षेत्रको बजेट घटेको भन्दै असन्तुष्टि जनाउनुभयो । कृषिको विशेष कार्यक्रम घोषणा गरेको भए पनि बजेट भने दुई अर्ब घटाएको उहाँले बताउनुभयो ।
देउवाले कृषिमा दक्ष जनशक्ति उत्पादनमा जोड दिनु पर्ने बताउनुभयो । दूध र उखु कृषकले भुक्तानी नपाएको भन्दै उहाँले त्यसको व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।
आलुमा भ्याट हटाउँदा स्वदेशी आलुले मूल्य नपाउने उहाँको चिन्ता छ । नेपा भोकमरीको सूचीमा माथि रहेकोले यो चिन्ताको विषय भएको बताउनुभयो ।
सीमा नाकामा धेरै चुहावट रहेकाले यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बजेटको व्यवहारिक कार्यान्वयनमा जोड दिनुभयो ।
