काठमाडाैं । नेकपा एमालेका सांसद् सुहाङ नेम्वाङले बुवा सुवासचन्द्र नेम्वाङलाई स्मरण गर्नुभएकाे छ ।
सांसद्मा निर्वाचित भएपछि मंगलबार पहिलो पटक प्रतिनिधि सभाकाे रोस्टममा उभिनुभएर सम्बाेधन गर्नुभएका सांसद् नेम्वाङले आफ्ना बुवा एमाले उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष दिंवगत सुवासचन्द्र नेम्वाङलाई स्मरण गर्दै भावुक हुनुभयाे ।
बजेटमाथिकाे छलफलमा भाग लिने क्रमकाे सुरुमै सांसद् नेम्वाङले बुवाकाे स्मरण गर्नुभयाे । आफूलाई उम्मेदवार बनाउने पार्टी नेतृत्व र जिताउने इलामेली जनतालाई धन्यवाद दिनुभयाे ।
बुवा संसद्भित्र यतै कतै रहनुभएकाे महशुस आफूलाई भइरहेकाे उहाँले बताउनुभयाे । 'पहिलाे पटक जब म संसद्मा छिरेँ, यहाँ उभिएर बाेलिरहेकाे छु, मलाई लागिरहेकाे छ बुवा यहाँ कतै हुनुहुन्छ, बुवालाई सम्झिएर भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्छु'- सांसद् नेम्वाङले भन्नुभयाे ।
बुवा सुवासचन्द्र नेम्वाङ लाेकतन्त्रका अटल हिमायती हुनुहुन्थ्याे भन्ने कुरा सबैलाई थाहा भएकाे भन्दै उहाँले बुवाले देखाउनुभएकाे मार्गदर्शनलाई शीरमा राखेर काम गर्ने संकल्प गर्नुभयाे ।
'लाेकतन्त्रका अटल हिमायती हुनुहुन्थ्याे, विचारकाे विविधता बहुदलीय प्रतिष्पर्धा र सस्ताे बहसलाई सम्मान गर्नुहुन्थ्याे, एकबद्ध भएमा समृद्ध राष्टंर निर्माण गर्न सकिन्छ भन्नेमा अविचलित हुनुहुन्थ्याे, सबै भाषाभाषी, जातजाती धर्म र संस्कृतिहरुकाे सहअस्तित्व र आपसी एकता तथा मेलमिलापले राष्ट्रिय एकता बलियाे हुन्छ भन्नेमा मान्यता राख्नुहुन्थ्याे म उहाँले देखाउनुभएकाे मार्गदर्शनलाई शीरमा राखेर काम गर्ने संकल्प गर्दछु ।'
इलामेली जनताका कारण आफू संसदीय यात्रामा रहेकाे भन्दै उहाँले सम्पूर्ण इलामेली जनतालाई धन्यवाद दिनुभयाे । अब युवा तयार हुनुपर्छ भनेर इलामेली जनताकाे काखमा पठाउने पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सांसद् नेम्वाङले विशेष धन्यवाद दिनुभयाे । आफूलाई भाेट दिने माओवादी केन्द्र लगायत दलका नेता-कार्यकर्तालाई पनि उहाँले धन्यवाद दिनुभयाे ।
बजेट सरकारकाे घाेषणापत्र भएकाे भन्दै उहाँले बजेट यथार्थमा आधारित हुनुपर्ने बताउनुभयाे । जनताहरुकाे आशा, अपेक्षा माग र आक्राेश भर्खरै सुनेर आएकाे, युवाहरुकाे परिवर्तनकाे हुटहुटी, चाहाना र समस्यालाई नजिकबाट छामेकाे भन्दै सांसद् नेम्वाङले जनताकाे आशा र माग सम्बाेधनका लागि बजेट पर्याप्त छ कि छैन भन्ने ठूलाे प्रश्न रहेकाे बताउनुभयाे ।
हाम्राे यात्राकाे तयारीमा समस्या कहाँ छ ? विकासमा जहाँकाे तहीँ छाैं ? कार्यान्वयनकाे समस्या कहाँकहाँ छन् ? विकासकाे वाधक काे काे हाे ? हाम्राे विकास र समृद्धिकाे बाटाेमा किन पटक पटक काँडा भेटिन्छन्, समृद्धिमा अघि बढेका पाइलामा किन घरिघरि घाउचाेट लाग्छ ? भन्ने प्रश्न गर्दै उहाँले बाटाेकाे अवराेध पन्छ्यानेतर्फ ध्यान जानुपर्ने बताउनुभयाे ।
समस्या भ्रष्टाचार हाे कि ? संरचनागत त्रुटी हाे कि ? राजनीतिक अस्थिरता भन्ने ? यसबारे आफैंलाई प्रश्न साेध्ने बेला भएकाे सांसद् नेम्वाङले बताउनुभयाे ।
नेपालसँग प्राकृतिक स्राेतदेखि संविधान, याेजना, युवा, संरचना, समृद्ध नेपाल सुखी नेपालीकाे राष्ट्रिय संकल्प सबै हुँदाहुँदै पनि किन अवराेध भइरहेकाे छ भन्ने प्रश्न उहाँले गर्नुभयाे । सांसद् नेम्वाङले सुशासनकाे सवालमा विमर्श गर्न सबैमा अपिल पनि गर्नुभयाे ।
