काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक आज पनि बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८१-८२ का लागि राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिकाे छलफल जारी रहनेछ ।
बजेटमाथि सामान्य छलफल सकिएलगत्तै अर्थमन्त्री वर्षमान पुनले सांसद्हरुले उठाएका प्रश्नकाे आजै जवाफ दिनुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ । प्रतिनिधि सभामा जेठ २० गतेदेखि बजेटमाथिकाे सामान्य छलफल सुरु भएकाे हाे ।
बैठकमा विनियोजन विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद् प्रेम सुवालले राख्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि अर्थमन्त्री पुनले विनियोजन विधेयक, २०८१ प्रस्तुत गर्नुहुनेछ ।
राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद् सुवालले राख्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।
अर्थमन्त्री पुनले राष्ट्रऋण उठाउने विधेयक, २०८१ लाई प्रस्तुत गर्नुहुनेछ । उहाँले भन्सार महशुल विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि प्रस्तुत गर्नुहुनेछ । त्यसपछि अर्थमन्त्री पुनले भन्सार महशुल विधेयक, २०८१ प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
