काठमाडाैं । नेपाली कांग्रेसका सांसद् वीरबहादुर बलायरले 'प्रधानमन्त्री छोरी आत्मनिर्भर' कार्यक्रमका लागि छुट्याइएकाे बजेटले आम छोरीहरूको अपमान गरेको बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् बलायरले साे कार्यक्रममा लागि छुट्याइएकाे बजेटले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा नै छोरीहरूको अपमान भएकाे बताउनुभयाे ।
त्यति कम बजेट विनियाेजन गर्नुभन्दा बजेट नै हटाउँनुपर्ने समेत उहाँले बताउनुभयाे । सरकारले सो कार्यक्रममा लागि १० करोड बजेट विनियोजन गरेको छ । 'प्रधानमन्त्री छोरी कार्यक्रम आयो, प्रधानमन्त्रीको छोरी, अर्थमन्त्रीको छोरी अथवा मेरै छोरी अथवा सांसदहरूका छोरीहरू हुन् भने त मलाई केही भन्नु छैन, नेपालको छोरीका लागि हो भने यो विनियोजित बजेटले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा छोरीहरूको अपमान भएको छ, बरु त्यति नै रकम विनियोजन गर्ने हो भने त्यसलाई हटाइदिँदा जाति हुन्छ जस्ताे लाग्छ'- सांसद् बलायरले भन्नुभयाे ।
