काठमाडाैं । अर्थमन्त्री वर्षमान पुनले बजेटले लिएकाे लक्ष्य हासिल हुने बताउनुभएकाे छ ।
आगामी आर्थिक वर्षका लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिकाे छलफलमा सांसद्ले उठाएका प्रश्नकाे बुधबारकाे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै उहाँले पहिचान गरिएका उद्देश्य, प्राथमिकता, रणनीति र रुपान्तरणकारी क्षेत्रकाे कार्यान्वयनबाट बजेटकाे लक्ष्य हासिल हुने बताउनुभयाे ।
अर्थमन्त्री पुनले भन्नुभयाे - 'विगत वर्षमा गरिएका आर्थिक सुधारका उपलब्धिलाई संस्थागत गर्ने, बदलिँदाे विश्व अर्थव्यवस्था र मुलुककाे वस्तुगत आवश्यकतालाई दृष्टिगत गरी उत्पादन र राेजगारीका अवसर सृजना गर्दै देशकाे अर्थतन्त्रलाई सबल र उत्थानशील बनाउने उद्देश्यकाे कार्यदिशा स्पष्ट गरी आगामी आर्थिक वर्ष ०८१-८२ लाई आर्थिक सुधारकाे वर्ष घाेषणा गरिएकाे हाे, यसका लागि विभिन्न ५ उद्देश्य, ५ प्राथमिकता, ५ रणनीति र ५ रुपान्तरणकारी क्षेत्र पहिचान गरी साेकाे कार्यान्वयनबाट बजेटले लिएकाे लक्ष्य हासिल हुने विश्वास लिएकाे छु ।'
बजेटले लिएको लक्ष्य हासिल गर्न पर्याप्त आधारहरू बनेका पनि उहाँले बताउनुभयाे । ६ प्रतिशत आर्थिक वृद्धिदरकाे लक्ष्य पनि हासिल हुने अर्थमन्त्री पुनले बताउनुभयाे ।
चालु वर्षमा ३.९ प्रतिशत आर्थिक वृद्धि रहने अनुमान गरिएको, आगामी वर्षमा विश्व बैंकले करिब ५ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेको, लगानीमैत्री वातावरण बनिरहेको छ, यस वर्ष आर्थिक सूचकहरूमा सुधार भइरहेकाे, अर्थतन्त्र चलायमान भइरहेकाले ६ प्रतिशत आर्थिक वृद्धिदरकाे लक्ष्य पूरा हुने उहाँले बताउनुभयाे ।
बजेटकाे आकार विगतकाे तुलनामा सन्तुलित रहेकाे दाबी पनि मन्त्री पुनले गर्नुभयाे ।
