काठमाडाैं । नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले संविधानले नचिनेकाे जनयुद्ध शब्द बजेटमा राख्नु गलत भएकाे बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१-८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलमा भाग लिँदै सांसद् खतिवडाले बजेटमा जनयुद्ध शब्द राख्नु संविधान विपरीत भएकाे बताउनुभयाे । 'सशस्त्र द्वन्द्व भन्ने शब्द प्रयाेग गरेकाे भए हुन्थ्याे, जनयुद्ध शब्द जुन संविधानले पनि चिनेकाे थिएन, त्यसलाई राख्दा हामीलाई आनन्द आए भन्ने हाेइन,तर संविधान विपरीत यी शब्द प्रयाेग गरियाे भन्ने हामीलाई लागेकाे छ'- उहाँले भन्नुभयाे ।
कृषिका सामग्रीका भ्याट लगाउँदा समस्या पर्ने भन्दै सांसद् खतिवडाले अब च्याङ्ग्रा र खच्चडलाई पनि भ्याट लगाउने हो कि ? भन्ने प्रश्न गर्नुभयाे ।बजेट विनियोजन हुने र कार्यान्वयन नहुने परिपार्टी रहेको भन्दै उहाँले यो वर्ष त्यस्तो अवस्था आउन नदिन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । 'हरेक वर्ष बजेट कर्णप्रिय हुने र कार्यान्वयन नहुने समस्या छ, ठूला आयोजनालाई पर्याप्त बजेट विनियोजन गरेर समयमै आयोजना सम्पन्न गर्नेतर्फ सरकारले बेलैमा ध्यान दिनुपर्छ'- सांसद् खतिवडाले भन्नुभयाे ।
असारे बजेटको पद्धतिलाई अन्त्य गरी विकास पूर्वाधारलाई प्राथमिकता दिन पनि उहाँले सरकारलाई सुझाव दिनुभयाे । घाटामा प्रस्तुत गर्ने बजेटले समृद्धिकाे यात्रामा देशलाई अघि बढाउन नसकिने पनि सांसद् खतिवडाले बताउनुभयाे ।
