काठमाडौं । प्रतिनिधि सभा सदस्य महेश बर्तौलाले वर्तमान सत्ता समीकरण प्रतिपक्षले सोचेजस्तो त्यति कमजोर नभएको बताउनुभएको छ ।
प्रतिनिधि सभामा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक समेत रहनुभएको बर्तौलाले बुधबार प्रतिनिधि सभा बैठकमा बजेट माथिकाे छलफलमा भाग लिँदै सरकारको विषयमा चिन्ता नगर्न प्रतिपक्षी दलका संसद्लाई आग्रह गर्नुभयो । ‘यो सत्ता समीकरण त्यति कमजोर डोरीबाट बनेको छैन, एउटा बलियो डोरीबाट बाँधिएको, एउटा विश्वासका साथ सङ्कल्प गरेर अगाडि बढेको समीकरण भएको कारणले गर्दा पशुपतिमा धूप-अक्षता गरेर यो सरकार आजै ढलोस्, भोलि ढलोस्, जे चाहिरहनुभएको छ, सामान्य यो बजेट माथि केही सुझाव राख्ने बित्तिकै ढलिहाल्छ भन्ने कोणबाट र जिम्मेवारी मेरै काँधमा आइहाल्छ भन्ने आशङ्का जे गरिरहनुभएको छ, त्यहाँसम्म पुग्ने स्थिति छैन’ बर्तौलाले भन्नुभयो ।
बजेटलाई राजनीतिक रूपमा एमालेले जस्ताको तस्तै पारित गर्ने उहाँले बताउनुभयो । तर सैद्धान्तिक रूपमा एमालले संसदमा खुल्ला सुझाव राख्ने उहाँले प्रष्ट पार्नुभयो ।
हरेक वर्ष बजेटले लिने लक्ष र उद्देश्य पुरा नहुनु चिन्ताको विषय भएको उहाँले बताउनुभयो । यसको जिम्मा कसले लिने भन्दै उहाँले प्रश्न गर्नुभयो ।
चालु खर्च घटाउन र पुँजीगत खर्च बढाउन केही प्रयत्न यस वर्ष गरिएको भए पनि अझै केही कुरा सुधार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । चालु खर्च घटाउन सरकारी सेवाको अवधि ६० वर्ष कायम गरी पेन्सनमा बसेकालाई कम्तीमा २५ प्रतिशत राष्ट्रको सेवामा काम गर्नुपर्ने प्रावधान बनाउँदा चालु खर्च केही घट्ने उहाँले बताउनुभयो ।
यस वर्ष विभिन्न कार्यक्रम सरकारले ल्याएको बताउँदै त्यसको गहन अध्ययन गरी ल्याएको भए राम्रो हुने बर्तौलाले सुझाव दिनुभयो ।
बाँझो मुक्त पालिका घोषणा नगर्दासम्म कृषिका कार्यक्रम प्रभाकारी हुन नसक्ने उहाँले बताउनुभयो । त्यस तर्फ अर्थ मन्त्रीको बर्तौलाले ध्यानाकर्षण गराउनुभयो ।
