काठमाडौं । प्रतिनिधि सभा सदस्य गगन थापाले अहिलेको सत्ता समीकरण अर्को बजेट तथा कार्यक्रम ल्याउने बेलासम्म नटिक्ने बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बजेट माथिको छलफल भाग लिँदै थापाले केही महिना पछि नै अहिलेको सरकारले ल्याएको बजेट तथा कार्यक्रम कांग्रेसले काँधमा बोकेर हिँड्नु पर्ने अवस्था आउन सक्ने बताउनुभयो । यति धेरै उथलपुथल भएको यो संसदमा फेरी ६÷८ महिना पछि यो बजेट आफैँले काँध हाल्नु पर्ने हो कि फेरि, आफ्नै बोली फेरि गलपासो हुने हो कि ?’, उहाँले भन्नुभयो ।
यस वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिको दाबी बजेटले गरेको भए पनि त्यो पुरा हुन नसक्ने उहाँले बताउनुभयो । ६ प्रतिशत आर्थिक वृद्धिदर दाबीको आधार के ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।
बजेटमा राजश्वको अनुमान जे जति राखिएको छ त्यो लक्ष पुरा गर्न सबैभन्दा उच्च वृद्धि हुनुपर्ने उहाँले बताउनुभयो । आर्थिक गतिविधि सङ्कुचित भएको बेला राजश्व संकलनको यति ठुलो लक्ष राख्नु उचित नहुने उहाँको धारणा छ । सरकारले बाह्य अनुदान र आन्तरिक ऋण लिन राखेको लक्ष पनि पुरा गर्न नसक्ने उहाँले टिप्पणी गर्नुभयो ।
सरकारको बजेट तथा कार्यक्रम उत्पादक भन्दा अनुत्पादक काममा बढी केन्द्रित भएको उहाँले बताउनुभयो । कृषिको बजेट काटेर कृषि दशक मनाउन खोजिएको भन्दै थापाले आलोचना गर्नुभयो ।
स्थानीय सरकारको समानिकरण अनुदान रोकिए तथा प्रदेश सरकारसँग छलफल नै नगरी बजेट राखिएको उहाँले बताउनुभयो । सरकारको बजेट आफै अलमलमा परेको भन्दै उहाँले आलोचना गर्नुभयो ।
उहाँले सरकारले ल्याएको बजेटको अर्को वर्ष जिम्मा कसरले लिने ? भन्दै प्रश्न गर्नुभयो । बजेट कार्यान्वयन नहुँदाको जिम्मा कसैले पनि नलिँदा बर्सेनि हावादारी बजेट आउने क्रम बढ्दै गएको उहाँको भनाइ छ । नेपालको अर्थतन्त्र गम्भीर संकटमा रहेकोले सोच विचार गरेर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । काम त्यही गरेर परिणाम फरक आउँदैन, उहाँले भन्नुभयो ।
