काठमाडौं । अर्थ मन्त्री वर्षमान पुनले नेपालमा लगानीको वातावरण बन्दै गएको बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाउनुभएको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले अर्थतन्त्र उकालो लाग्ने क्रम सुरु भएको बताउनुभयो । लगानीको वातावरण बनेको र अर्थतन्त्र सुदृढ हुँदै गएकोले बजेटले राखेको ६ प्रतिशतको आर्थिक वृद्धिदर पुरा हुने उहाँले विश्वास दिलाउनुभयो ।
अर्थतन्त्र चलायमान भएको, निजी क्षेत्रको मनोबल बढ्दै गएको, वित्तीय क्षेत्रबाट लगानीयोग्य पुँजी थप परिचालन भएको, भर्खरै सम्पन्न भएको लगानी सम्मेलनमा व्यक्त भएका प्रतिबद्धता बमोजिम थप वैदेशिक लगानी परिचालित हुने उहाँले दाबी गर्नुभयो । ‘बैङ्किङ प्रणालीमा लगानीयोग्य रकमको वृद्धि तथा बाह्य क्षेत्र सुदृढ रहेको अवस्थाले सहज वातावरण सृजना भएको हुँदा बजेटमा व्यवस्था गरिएको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट ६ प्रतिशत आर्थिक वृद्धि हुने विश्वास म दिलाउँछु’, उहाँले भन्नुभयो ।
सरकारले ल्याएको बजेट महत्त्वाकाङ्क्षी नभई सन्तुलित भएको उहाँले दाबी गर्नुभयो । विगतका वर्षका बजेटको तुलनामा यस वर्षको बजेट सन्तुलित रहेको उहाँले बताउनुभयो ।
सरकारले बजेटको प्रभावकारी कार्यान्वयन गर्न आयोजनाका प्रमुखलाई आर्थिक वर्षभर अन्यत्र सुरुवा नगर्ने उहाँले बताउनुभयो । त्यस्तै विकास आयोजनाको काम दुई सिफ्टमा सञ्चालन गरिने पनि उहाँले जानकारी दिनुभयो ।
