काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले क्रिकेटर सन्दीप लामिछाने, काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र गिरिबन्धु टी-स्टेटकाे कुरा सदनमा उठाएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै कांग्रेस महामन्त्री तथा सांसद् विश्वप्रकाश शर्माले अदालतले निर्दाेष हाे भनेर फैसला गर्दापनि विश्वकप खेल्न सन्दीप अमेरिका जान नपाउनु गलत भएकाे बताउनुभयाे । सरकारले त्यसका लागि समयमै पहल गर्नुपर्नेमा नगरेकाे उहाँले बताउनुभयाे । यसका लागि के पहल गरियाे र गरिएन भन्नेबारे सांसद् शर्माले खेलकुदमन्त्री र सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
गिरिबन्धु टी-स्टेटबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसमाथि झुटाे आराेप लगाउनुभएकाे दाबी पनि उहाँले गर्नुभयाे । गिरिबन्धु सम्बन्धी कानुन बनाउँदा कांग्रेसले संशाेधन हालेकाे र त्यसकाे अभिलेख राष्ट्रिय सभामा रहेकाे सांसद् शर्माले बताउनुभयाे ।
उहाँले गिरिबन्धुबारे अनुसन्धान गरेर कांग्रेसलाई कारबाही गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई चुनाैती समेत दिनुभयाे । 'म यहाँ गृहमन्त्रीजीलाई खाेज्न चाहान्छु, सत्तारुढ दलकाे सबैभन्दा ठूलाे दलकाे अध्यक्षले कांग्रेसले जग्गा बेचेर ७० बिघाकाे कमिशन खायाे भनेर जे आराेप लगाउनुभएकाे छ, त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न के तपाइँ गिरिबन्धुकाे फाइल खाेल्न तयार हुनुहुन्छ ?' - सांसद् शर्माकाे प्रश्न छ ।
गृहमन्त्री लामिछाने फाइल खाेल्न त के बाेल्न पनि नसक्ने पनि उहाँले बताउनुभयाे । बाेल्न सक्ने भएकाे भए शिक्षामन्त्री सुमना श्रेष्ठप्रति लक्षित एमाले अध्यक्ष ओलीलाई बाेली फिर्ता लिन भन्नुपर्ने समेत सांसद् शर्माले बताउनुभयाे ।
काठमाडाैं महानगरका मेयर शाहसँग आफैं नभएर उपप्रमुख सुनिता डंगाेल या पार्टीका नेतालाई भन्दा हुनेमा एमाले अध्यक्ष ओली आफैं सुरिएकाे आराेप पनि उहाँले लगाउनुभयाे । बालेनलाई त्यहाँ काम गर्न दिनुपर्ने र न्युराेडमा बालेनले गर्न लागेकाे काम राम्राे भएकाे दाबी पनि सांसद् शर्माले गर्नुभयाे ।
कांग्रेसलाई एमालेले अलाेकतान्त्रिक भनेकाे भन्दै उहाँले भीम रावल खाेइ भन्दै प्रश्न गर्नुभयाे । २०४६ सालदेखिका फाइल खाेल्न सरकारलाई चुनाैती दिँदै सांसद् शर्माले कांग्रेस त्यसका लागि तयार भएकाे बताउनुभयाे । गृहमन्त्री र कैलाश सिराेहियालाई लक्षित गर्दै उहाँले भन्नुभयाे - 'कसैका २ वटा नागरिकता र पासफाेर्ट हुने, कसैले नागरिकताकाे नम्बर मिल्याे भन्दैमा जेल पठाउने ।'
गृहमन्त्रीले आवश्यक पर्दा गाेली चलाउन आदेश दिने भन्दै उहाँले गृहमन्त्रीले हावामा गाेली हान्न नहुने बताउनुभयाे । फौजदारी वा कुनै घटनामा आरोप लागेका व्यक्तिमाथि छानबिन गर्दा पूर्वाग्रहबाट मुक्त भएर अनुसन्धान गर्न सांसद् शर्माले सरकारलाई आग्रह गर्नुभयाे । सहकारी ठगी काण्डकाे छानबिनका लागि बनेकाे संसदीय समितिले निष्पक्ष छानबिन गर्नुपर्ने पनि उहाँले बताउनुभयाे ।
