काठमाडौं । प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले सहकारी ठगी छानबिन समितिले तथ्यमा आधारित भएर छानबिन गरी सही तथ्य देशको समक्ष सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।
बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै शर्माले सहकारी छानबिन प्रकरणमा गृह मन्त्रीको नाम नलेखिएको भए पनि उहाँको नाम जोडिएको उहाँले बताउनुभयो । त्यसैले सत्य तथ्य सार्वजनिक आउने उहाँले स्पष्ट पार्नुभयो ।
संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्रीको सकारात्मक भूमिका रहेको भन्दै उहाँले धन्यवाद दिनुभयो । तर देशको प्रधानमन्त्रीले प्रतिपक्षको विरोध जारी रहेको बेला कोलाहलकै बिचमा विश्वासको मत लिएको भन्दै उहाँले आलोचना गर्नुभयो । ‘यो संख्यातन्त्रको जीत हो, लोकतन्त्रको गरिमा होइन’, उहाँले भन्नुभयो ।
यस मामलामा सभामुखको भूमिका पनि निष्पक्ष हुन नसकेको उहाँले बताउनुभयो । सभामुखले प्रतिपक्षको विरोधका बिच हतारोमा प्रधानमन्त्रीले लिएको विश्वासको मतमा साथ दिएको उहाँको भनाइ छ ।
गिरीबन्धु प्रकरणमा कांग्रेस चुप लागेको बेला एमाले अध्यक्ष केपी ओलीले कांग्रेसको विरुद्ध फायर खोलेको कारण कांग्रेस प्रतिवादमा उत्रिएको उहाँले बताउनुभयो । कांग्रेस माथि आरोप लागेपछि कांग्रेसले प्रतिवाद गरेको शर्माले टिप्पणी गर्नुभयो । उहाँले कांग्रेसले गिरीबन्धुको ७० बिघा जमिन बेचर कमिसन खाएको भन्ने फाइल फुकाएर कांग्रेसलाई कारबाही गर्न गृह मन्त्रीलाई चुनौती दिनुभयो ।
संघ र स्थानीय तह बिचको द्वन्द्वमा संघीय सरकार संयमित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले न्युरोडमा सडक साँघुर्याएर सडक पेटी बढाउन काठमाडौं महानगरपालिकाले गरेको काम ठिक भएको बताउनुभयो । ‘न्युरोडमा नागरिकको सुविधाका लागि सडक पेटी बढाउन जरुरी थियो, बालेनले जे गरेका थिए, ठिक गरेका थिए, उनलाई काम गर्न दिइनु पर्छ, संघले यसमा हस्तक्षेप गर्ने कुराबाट फिर्ता हुनुपर्छ’, उहाँले भन्नुभयो ।
शर्माले गृह मन्त्री रवि लामिछानेले सबैले बदमासी गरेका छन् तर मेरो विरुद्ध मात्र किन छानबिन भन्ने खालको अभिव्यक्ति दिएको भन्दै उहाँले आलोचना गर्नुभयो । २०४६ साल यताका सबै फाइल खोल्न कांग्रेस तयार भएको उहाँले बताउनुभयो । निष्पक्ष छानबिन गर्न, सबै घटनाको छानबिन गर्न उहाँले चुनौती दिनुभयो ।
संसद्को राेष्टम कसैले जोक गर्ने र झोक फेर्ने ठाउँ नभएको उहाँले बताउनुभयो । संसद्को रोष्टममा उभिएर गृह मन्त्रीले संसद् भित्रै नेपालको सूचना विदेशीलाई बेच्ने व्यक्ति छन् भनेर दिएको अभिव्यक्ति पुष्टि गर्नुपर्ने शर्माले बताउनुभयो । गृह मन्त्रीले हावामा गोली चलाउन नमिल्ने उहाँको भनाइ छ ।
सहकारी छानबिन गठबन्धनको गणितलाई होइन पीडितका पसिनामा आधारित भएर गर्न उहाँले सुझाव दिनुभयो । छानबिन सत्ता केन्द्रित भएर नभई पीडित केन्द्रित भएर गर्न उहाँले आग्रह गर्नुभयो ।
