काठमाडाैं ।अर्थमन्त्री वर्षमान पुनले बैंकर्स र व्यवसायी छुट्याएर बैंकलाई थप व्यवस्थित गरिने बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियाेस् भन्ने प्रस्तावमाथिकाे छलफलमा सांसद्ले उठाएका प्रश्नकाे जवाफ दिँदै अर्थमन्त्री पुनले बैंकिङ क्षेत्रलाई थप व्यवस्थित बनाउन बैंकर्स र व्यवसायी छुट्याउने नीति लिइएकाे बताउनुभयाे । 'स्वार्थ बाझिनेगरी बैंकर्स र व्यवसायीहरु एकै खालकाे हुने कुरालाई अलग गर्नुपर्छ भन्ने कुराहरु आएका छन्, यसमा त्यसलाई व्यवस्थित गर्न खाेजिएकाे छ'- उहाँले भन्नुभयाे ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकसित वित्तीय प्रणाली, औजार, सुरक्षा र जोखिमका आधारमा वित्तीय संस्थाको प्रभावकारी व्यवस्थापन एवं नियमन गर्नका लागि विधेयक ल्याइएकाे अर्थमन्त्री पुनले बताउनुभयाे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातावरण तथा प्रविधिमा आएको परिवर्तनलाई प्रयोग गर्न विधेयक ल्याइएकाे उहाँले बताउनुभयाे ।
संविधान अनुसार तीन तहका सरकारमा वित्तीय अधिकार क्षेत्र व्यवस्थित रूपले कार्यान्वयन गर्न विधेयक ल्याइएकाे भन्दै अर्थमन्त्री पुनले साेही अनुसार प्रदेश सरकारहरूले प्रदेश बैंकहरू खोल्न थालिसकेका बताउनुभयाे ।
नेपालको समग्र बैंकिङ क्षेत्रको विश्वानियता अभिवृद्धि गर्न, राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाई स्थायीत्व कायम गर्न, बैंक तथा वित्तीय संस्थाहरूको स्थापना, सञ्चालन र व्यवस्थापन र नियमन गर्न विधेयक ल्याइएकाे उहाँले बताउनुभयाे । मन्त्रालय र राष्ट्र बैंकको समन्वय र सरोकारवालाहरुको राय परामर्शमा विधेयकमा नयाँ व्यवस्था ल्याइएकाे अर्थमन्त्री पुनले बताउनुभयाे ।
सञ्चालकहरुकाे उमेर पहिला २५ वर्ष पूरा भएकाे भनिएकाेमा अहिले ७० वर्ष ननाघेकाे भन्ने उल्लेख गरिएकाे पनि उहाँले बताउनुभयाे ।
