काठमाडाैं । बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियाेस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत भएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले पेस गर्नुभएकाे बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियाेस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएकाे हाे ।
प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दै सभामुख देवराज घिमिरेकाे आसनमा बस्नुभएका उपसभामुख इन्दिरा रानाले बहुमतले स्वीकृत भएकाे घाेषणा गर्नुभयाे ।
त्यसअघि विधेयककाे सैद्धान्तिक पक्षमाथि सामान्य छलफल भएकाे थियाे । छलफलमा सांसद्ले उठाएका प्रश्नकाे अर्थमन्त्री वर्षमान पुनले जवाफ दिनुभएकाे थियाे ।
उपसभामुख इन्दिरा रानाले उक्त विधेयकमाथि संशोधन पेस गर्न चाहाने सदस्यलाई ७२ घण्टाभित्र प्रतिनिधि सभाको विधेयक शाखामा संशाेधनकाे सूचना दिन अनुराेध गर्नुभयाे ।
